म्यानचेस्टर सिटी तेस्रो स्थानमा उक्लियो
काठमाडौं । म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा वल्भ्समाथि १–० को संघर्षपूर्ण जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।
शनिबार भएको खेलमा सिटीका लागि केभिन डि ब्रुइनले ३५औँ मिनेटमा गरेको एक मात्र गोल निर्णायक बन्यो । उनले जेरेमी डोकुको पासमा बल नियन्त्रणमा लिएर गरेको प्रहारले वल्भ्सको लगातार ६ खेलको जितको शृंखला तोडिदियो । यो सिजन सिटीका लागि डि ब्रुइनको अन्तिम घरेलु खेलहरूमध्ये एक मानिएको छ । उनले उत्साहजनक प्रदर्शन गर्दै समर्थकहरूलाई सन्तुष्ट पारे ।
वल्भ्सले पहिलो हाफमा रायन एइट-नुरी र म्याथेउस कुञ्हाका प्रहारमार्फत केही खतरनाक अवसर सिर्जना गरे पनि दोस्रो हाफमा उनीहरूको आक्रमण सुस्त देखियो र बराबरी गर्न सकेनन् ।
जितसँगै म्यानचेस्टर सिटीले ६४ अंक जोडेको छ । अब सिटी न्यूक्यासलभन्दा २ अंकले तथा चेल्सी र नटिंघम फरेस्टभन्दा ४ अंकले अघि रहेको छ । प्रिमियर लिगका अन्य खेलमा लेस्टर सिटीले साउथ ह्याम्पटनलाई २–० ले पराजित गर्यो। एस्टन भिल्लाले फुलहमलाई १–० ले हरायो । एभर्टन र इप्स्विचबीचको खेल २–२ को बराबरीमा टुंगिएको छ ।