डाक्टरहरूको हडतालले ओपिडी सेवा ठप्प

भक्तपुर न्यूज

१२ वैशाख २०८२ १६:१५

डाक्टरहरूको हडतालले ओपिडी सेवा ठप्प

काठमाडौं । वृद्धि गरिएको निर्वाह भत्ता पाउनुपर्ने माग गरेर आन्दोलनरत आवासीय चिकित्सकहरूले आज शुक्रबार सरकारी अस्पतालमा पनि ओपिडी सेवा ठप्प पारेका छन् ।

निजी मेडिकल कलेजहरूले सरकारीसरह निर्वाह भत्ता नदिएपछि नेपाल चिकित्सक संघले देशव्यापी आन्दोलन घोषणा गरेको थियो । आज शुक्रबार सरकारी र निजी दुवै अस्पतालको ओपिडी सेवा ठप्प भएको नेपाल चिकित्सक संघका अध्यक्ष डा. ओमविक्रम कार्कीले जानकारी दिए । वीर अस्पतालका निर्देशक डा. दिलिप शर्माले शुक्रबार ओपीडी सेवा सञ्चालन गर्न नसकिएको बताए ।

गत आइतबार अस्पतालहरूमा ओपिडी सेवा बन्द गरेर चिकित्सकहरू माइतीघर क्षेत्रमा प्रदर्शनमा उत्रेका थिए । निजी मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगले तोकेको तलब नदिएपछि एक महिनादेखि चिकित्सकहरू आन्दोलित छन् । बिहीबार संघले आन्दोलनका कार्यक्रम घोषणा गरेपछि देशैभरका चिकित्सक निजी अस्पताल र सरकारविरुद्ध आन्दोलन गरिरहेका छन् । उनीहरूले तोकिएको निर्वाह भत्ता पाउनुपर्ने माग राखेका छन् ।

आज शुक्रबार वीर अस्पताल, ट्रमा सेन्टर, कान्ति बाल अस्पताल, सिभिल अस्पताललगायतमा ओपिडी सेवा बन्द हुँदा बिरामीहरू फर्किएका छन्। चिकित्सकले ओपिडी सेवा बहिष्कार गरेसँगै अस्पतालमा पुगेका बिरामी अलपत्रमा परिरहेका छन् । नेपाल चिकित्सक संघको आह्वानमा आज ओपीडी सेवा बहिष्कारको घोषणा गरिएको हो । आन्दोलनरत चिकित्सक अहिले माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गरिरहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *