नेपालको लगातार तेस्रो हार
काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी आई महिला शृंखलामा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ ।
आज भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग १५ रनले पराजित भएको हो ।
नेदरल्याण्ड्सले दिएको १४१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १२५ रन मात्र बनायो।
नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक ३० रन बनाइन् । यस्तै, सम्झना खड्काले २३, पुजा महतोले १८, कविता जोशीले १४ तथा सिता राना मगरले नट आउट रहँदै १० रन जोडिन् ।
नेदरल्याण्ड्सका आइरिस विलिङ, कारोलिन डे लाङ र हिथर सिगर्सले २/२ तथा इभा लिन्च र इसाबेल वोनिङले १/१ विकेट लिए ।
त्यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा ९ विकेट गुमाएर १४० रन बनायो ।
नेदरल्याण्ड्सका लागि कप्तान बाबेट डे लिडेले ४१ तथा फेबे मोल्कनबोर र रोबिन रिकेले समान २१ रन बनाए ।
नेपालका लागि सीता राना मगरले ५, मनिषा उपाध्यायले २ तथा कविता जोशी र इन्दु बर्माले १/१ विकेट लिए ।