दक्षिण कोरियामा १७६ जना सवार विमानमा आगलागी, मानवीय क्षति हुनबाट जोगियो
काठमाडौं । दक्षिण कोरियाको गिम्हे अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार राति चालक दलका सदस्य सहित १७६ यात्रु बोकेको विमानमा आगलागी भएको छ । उडान गर्नुअघि यात्रु विमानमा आगलागी भएको थियो । विमानमा आगलागी भए पनि मानवीय क्षति हुनबाट भने जोगिएको छ ।
दक्षिण कोरियाली यातायात मन्त्रालयका अनुसार आगलागी हुनासाथ सबै यात्रुलाई सुरक्षित रूपमा बाहिर निकालिएको थियो । एअर बुसानको विमान दक्षिणपूर्वी शहर बुसानबाट हङकङका लागि उडान भर्ने तयारीमा थियो । उडान भर्नुभन्दा ठीकअघि, विमानको पछिल्लो भागमा आगो लागेको रिपोर्ट आएको र तत्कालै उद्धार कार्यलाई निरन्तरता दिइएको मन्त्रालयको भनाइ छ ।
आगलागीको खबर पाएपछि सबै १६९ यात्रु र सात चालक दलका सदस्यलाई स्लाइडको मद्दतले बाहिर निकालिएको थियो भने सो क्रममा तीन यात्रु घाइते भएको बताइएको छ ।
विमानमा आगलागीको कारण अझै स्पष्ट भएको छैन । यातायात मन्त्रालयले उक्त विमान ए ३२१ मोडेलको रहेको बताएको छ ।
एअरलाइन्स र स्थानीय अधिकारीले घटनाको अनुसन्धान गरिरहेका छन् ।