एन्फा महिला लिग उपाधिः एपिएफ र पुलिस भिड्दै
काठमाडौं । एन्फा महिला लिग फुटबलको उपाधिका लागि आज बुधबार दुई विभागीय टोली नेपाल एपिएफ र नेपाल पुलिस क्लब भिड्दै छन् । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल दिउँसो २ बजे हुनेछ ।
आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले पहिलोपटक महिला लिगमा प्लेअफ अवधारणा प्रणाली लागू गरेको हो ।
एपीएफले पहिलो क्वालिफायरमा त्रिभुवन आर्मी क्लबलाई २–१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । जारी लिगमा एपिएफ एकमात्र अपराजित टोली हो । इलिमिनेटर खेलमा बागमती युथ क्लबसँग १–० को कठिन जित निकाले पनि पुलिसलाई फाइनल प्रवेश गर्न त्रिभुवन आर्मी क्लबसँग भने पेनाल्टी सुटआउटको सहारा लिनुपर्यो ।
एन्फा महिला लिगमा समग्रमा एपीएफ र पुलिस चौथो पटक भिड्न लागेका हुन् । पहिलो चरणमा पुलिसले एपीएफलाई गोलरहित बराबरीमा रोकेको थियो । तर सुपर लिगको पहिलो खेलमा एपीएफले पुलिसलाई ६–० को फराकिलो अन्तरले पराजित गरेको थियो भने अर्को खेलमा पनि एपीएफले पुलिसलाई २–० ले पराजित गरेको थियो ।