प्रधानमन्त्री ओलीले सूर्यविनायक नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको समुद्घाटन गर्दै

भक्तपुर न्यूज

११ माघ २०८१ १५:५३

प्रधानमन्त्री ओलीले सूर्यविनायक नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको समुद्घाटन गर्दै

भक्तपुर । सूर्यविनायक नगरपालिकाको नवनिर्मित प्रशासकीय भवन प्रधानमन्त्री केपी शर्मा ओलीबाट समुद्घाटन हुने भएको छ ।

प्रशासकिय भवन समुदघाटनको सन्दर्भमा नगरपालिकाले आज पत्रकार सम्मेलन गरि माघ १४ गते सोमबार बिहान ११ बजे प्रधानमन्त्री ओलीबाट भवनको समुदघाटन गर्ने जानकारी गराएको हो ।

नगरपालिकाको वडा नं. ५ को कटुञ्जेमा नवनिर्मित भवनको समुद्घाटनको तयारी तिब्र गतिमा भैरहेको छ ।

साँघुरो रुपमा सेवा प्रवाह गर्न बाध्य भएको नगरपालिकाले अब आफ्नै भवनबाट सहज र सर्वसुलभरुपमा सेवाग्राहीलाई सेवा प्रवाह गर्ने नगरप्रमुख बासुदेव थापाले बताए । ‘लामो समय भाडाको घरबाट हामीले दिँदै आएको सेवा अब आफ्नै भवनबाट प्रदान गर्दै छौं । सम्माननीय प्रधानमन्त्रीबाट विधिवत रुपमा यस नगरपालिकाको नवनिर्मित प्रमुख प्रशासनिक भवनको उद्घाटनपछि यहीबाट सेवा शुभारम्भ गर्ने छौं । यो एउटै भवनबाट सम्पूर्ण शाखाहरु सञ्चालन हुनेछ ।’ नगरप्रमुख थापाले भने ।

२०७२ सालमा संविधान जारी पश्चात भएको राज्य पुनःसंरचनामा साविकको आठ गाविस (सिरुटार, बालकोट, दधिकोट, कटुञ्जे, गुण्डु, सिपाडोल, नंखेल र चित्तपोल) मिलेर २०७३ साल फागुन २७ गते घोषित यो नगरपालिका बनेको थियो ।

आफ्नै भवन नहुँदा नगरपालिकाले अहिले पनि भाडाको घरबाट सेवा दिइरहेको छ । नगरपालिका घोषणा भएदेखि नै भाडा बसेको नगरपालिका पहिला जगातीमा भाडामा बसेको थियो । पछि नगरपालिका कटुञ्जेस्थित टंकप्रसाद आर्याच स्मृति भवनमा भाडामा बस्दै आएको छ । उक्त भवनमा पनि ठाउँ अभाव हुँदा नगरपालिकाको विभिन्न शाखा समेत भाडाकै घरबाट सञ्चालन गर्दै आएको छ ।

नगरपालिकाको प्रशासकीय भवन निर्माणका लागि भ्यालीरबाबुरत्न जे.भी. ललितपुरले २०७६ पुस २४ गते सम्झौता गरेको थियो । उक्त भवनको सुरू लागत अनुमान २९ करोड ५२ लाख ९३ हजार ३ सय ४५ रुपैया ३४ पैसा (भ्याट बाहेक) भएपनि ठेक्का सम्झौता रकम भने २० करोड ४१ लाख ५२ हजार ३ सय ३१ रुपैया ८९ पैसा (भ्याट बाहेक) रहेको छ ।

प्रशासनिक भवनमा नगर प्रमुख, उपप्रमुखका साथै, नगरपालिकाको अलग अलगै शाखा, बैठक कक्ष, सभा हलको व्यवस्था, सेवाग्राहीका लागि सहजरुपमा यातायातको पार्किङ लगायतको पूर्वाधारको व्यवस्था गरिएको प्रवक्ता रविन्द्र सापकोटाले बताए । ‘नवनिर्मित भवनमा दुई तल्ला वेशमेण्ट पार्किङमा करिब ५ सय सवारी साधनहरु पार्किङ गर्ने मिल्नेछ । ८ जना क्षमताको दुई वटा लिफ्ट, ३ सय जना अट्ने सेमिनार हल, दुई वटा बैठक कक्ष, एउटा पुस्तकालय कक्ष, एउटा तालिम कक्ष, ९२ वटा कार्यालय कक्ष, अपाङ मैत्री तथा स्तनपान कक्ष रहेको छ ।’ प्रवक्ता सापकोटाले भने ।

भवन निर्माण चरणमा दुई वर्ष विश्वव्यापी महामारीको रुपमा कोभिडले लकडाउन भएको केही ढिलाई हुन गएको नगरपालिकाका प्रवक्ता सापकोटाले जानकारी दिए ।

नवनिर्मित भवन ६ रोपनी ११ आना २ पैसा ३ दाम क्षेत्रफलमा बनेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *