भक्तपुरमा कार र मोटरसाइकल ठोक्किँदा घाइते भएकी महिलाको मृत्यु, ३ वर्षीया छोरीको डिस्चार्ज
भक्तपुर । मध्यपुरथिमि नगरपालिका–२ दिव्यश्वरीस्थित सडकमा कार र मोटरसाइकल ठोक्किँदा घाइते भएकी एक महिलाको मृत्यु भएको छ । गत सोमबार पेप्सीकोलाबाट मगर गाउँतर्फ जाँदै गरेको बा.प्र.०१–०२७ च ९२७ नम्बरको कार र सोही दिशातर्फ जाँदै गरेको बा. ५० प ७४१ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक भोजपुर घर भई हाल काठमाडौं पेप्सीकोला बस्ने राजु राईकी श्रीमती सपना राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी सपनाको काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचारका क्रममा बुधबार मृत्यु भएको भक्तपुर प्रहरीले जानकारी दिएको छ ।
सपनाको शव अस्पतालमै राखिएको छ । दुर्घटनामा घाइते भएकी उनकी तीन वर्षीया छोरी ईश्वरीको सोही अस्पतालमा उपचारपछि डिस्चार्ज गरिएको छ ।
कार चालक रामेछाप सुनापाती गाउँपालिका–१ घर भई हाल बूढानीलकण्ठ नगरपालिका–४ बस्ने ३४ वर्षीय कृष्णप्रसाद गौतमलाई प्रहरी वृत्त ठिमिले नियन्त्रणमा लिएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।