नेपालको लगातार तेस्रो हार
काठमाडौं । मलेसियामा जारी आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकपमा नेपालले लगातार तेस्रो हार बेहोरेको छ ।
बुधबार समूह चरणको अन्तिम खेलमा अस्ट्रेलियासँग ८३ रनले पराजित भएसँगै नेपालले विश्वकपमा लगातार तेस्रो हार बेहोरेको हो । नेपाल पहिलो खेलमा बंगलादेश तथा दोस्रो खेलमा स्कटल्याण्डसँग पराजित भएको थियो । नेपाल जितविहीन रहँदै विश्वकपबाट बाहिरिएको छ ।
अस्ट्रेलियाले दिएको १ सय ४० रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ५६ रन मात्र जोड्यो । नेपालका लागि कप्तान पुजा महतोले १८ रन जोडिन् । पुजा बाहेक अन्य नेपाली ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
अस्ट्रेलियाका लागि जुलिटि मोर्टोन, लिली बासिङ्थवाइट र हसरत गिलले समान २ विकेट लिए । यस्तै, क्लो आइन्सवर्थले एक विकेट लिए ।
त्यसअघि मलेसियास्थित युकेएम क्रिकेट ओभलमा टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३९ रन बनाएको थियो ।
अस्ट्रेलियाका लागि काओइमहे ब्रेले ४५, एलेनोर लारोसाले ३१, हसरत गिलले ३०, क्लो आइन्सवर्थले अविजित १६ तथा कप्तान लुसी ह्यामिल्टनले १४ रन बनाए ।
नेपालकी कप्तान पूजा महतोले तीन, सिमाना केसीले दुई र रिया शर्माले एक विकेट लिए ।