नेपाल स्कटल्यान्डसँग एक विकेटले पराजित
काठमाडौं । आईसीसी यू–१९ महिला टी– ट्वान्टी विश्वकपमा नेपाल स्कटल्याण्डसँग पराजित भएको छ ।
वाइएसडी युकेएम क्रिकेट ओभलमा आज भएको समूह ‘डी’ को खेलमा नेपाल स्कटल्यान्डसँग एक विकेटले पराजित भएको हो ।
नेपालले दिएको ७४ रनको लक्ष्य स्कटल्यान्डले १८ दशमलव ४ ओभरमा नौ विकेट गुमाएर पूरा गरेको हो । स्कटल्यान्डकी पिप्पा स्प्रौलले ३५, गेब्रिएला फन्टेनलाले अविजित १२ रन बनाए । स्कटल्याण्डका अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेपालका रचनाकुमारी चौधरी र सिमना केसीले समान दुई तथा पूजा महतो र कृष्मा गुरुङले समान एक एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपाल १८ दशमलव ५ ओभरमा ७३ रन जोड्दै अल आउट भएको थियो । नेपालका लागि कप्तान पुजा महतोले २७ र सावित्री धामीले १० रन बनाए । नेपालका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
स्कटल्याण्डका लागि मैसि म्याकिराले ५, अमि बलडाइ र नइमा शेखले समान २ तथा क्रिस्टी म्यायाकोलले १ विकेट लिए ।
नेपालको यो लगातार दोस्रो हार हो । योसँगै नेपालको सुपर सिक्समा पुग्ने सम्भावना समाप्त भएको छ । नेपाल पहिलो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो । अब नेपालले समूहको अन्तिम खेलमा बुधबार अस्ट्रेलियासँग खेल्नेछ ।