दिनेश त्रिपाठीमाथि कुटपिट गर्ने थप एक जना पक्राउ
काठमाडौं । प्रहरीले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गरेको आरोपमा शान्तिनगरबाट थप एक जनालाई पक्राउ गरेको छ ।
झापाको बुद्ध शान्ति गाउँपालिका–४ घर भई हाल काठमाडौं शान्तिनगर बस्दै आएकी ५५ वर्षीया शितल राई भनिने सीतादेवी राईलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।
पक्राउ परेकी उनलाई अनुसन्धानका लागि प्रहरी वृत्त सिंहदरबार पठाइएको छ ।
योसँगै त्रिपाठीमाथि कुटपिट गरेको आरोपमा पक्राउ पर्नेको संख्या तीन पुगेको छ । बुधबार जिल्ला अदालत काठमाडौंको दक्षिण गेट बाहिर त्रिपाठीमाथि कुटपिट भएको थियो । यसअघि प्रहरीले ललित केसी र महानन्द जैसी भनिने महेन्द्र पाण्डेलाई त्रिपाठीमाथि कुटपिट गरेको आरोपमा पक्राउ गरेको थियो ।
पक्राउ परेकाहरूविरूद्ध ज्यान मार्ने उद्योगको कसुरमा प्रहरीले अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।