इजरायली प्रधानमन्त्रीको चेतावनी : दोस्रो चरणको युद्धविराम सफल नभए फेरि आक्रमण थाल्ने

भक्तपुर न्यूज

६ माघ २०८१ ११:३५

इजरायली प्रधानमन्त्रीको चेतावनी : दोस्रो चरणको युद्धविराम सफल नभए फेरि आक्रमण थाल्ने

काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दोस्रो चरणको युद्धविराम सफल नभएमा हमासविरुद्ध फेरि आक्रमण थाल्ने चेतावनी दिएका छन् ।

पहिलो चरणको युद्धविराम कार्यान्वयनमा आउनुअघि टेलिभिजनमार्फत आफ्ना देशबासीहरूलाई सम्बोधन गर्दै नेतान्याहुले यस्तो चेतावनी दिएका हुन् । उनले हमासविरुद्ध गाजा क्षेत्रमा आक्रमण गर्ने अधिकार इजरायललाई रहेको दाबी गरेका छन् ।

१५ महिना लामो युद्धपछि सन् २०२५ जनवरी १५ मा इजरायल र हमासबीच युद्धविराम सहमति भएको थियो । युद्धविराम तीन चरणमा हुने छ । पहिलो चरण आज १९ जनवरीदेखि १ मार्चसम्म हुने छ । पहिलो चरणमा इजरायलको जेलमा बन्द प्यालेस्टिनी रिहा हुनेछन् । त्यसको बदलामा ३३ इजरायली बन्धक रिहा हुनेछन् । इजरायली सेना गाजा क्षेत्रबाट सात सय मिटर पछि हट्ने छन् ।

पहिलो चरणको युद्धविराम सफल भएमा दोस्रो चरणको युद्धविराम सुरु हुने छ । यस चरणमा दुवैपक्षबाट कुनै पनि आक्रमण नगर्ने, राहत सामग्री आपूर्ति गर्ने र बन्दी रिहाइ जारी राख्ने सहमति छ । तेस्रो चरणमा भने इजरायलको आक्रमणबाट ध्वस्त गाजा क्षेत्रको पुनर्निर्माण गरिने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *