देशका विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला
काठमाडौं । देशका विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला परेका छन्। मंगलबार काठमाडौँ, कैलाली, कास्की, ललितपुर, पर्साका विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
मृत अवस्थामा फेला पर्नेहरूमा काठमाडौँ, बुढानीलकण्ठ नगरपालिका-५ टुसालस्थित आफ्नै निर्माणाधीन घरमा दोलखा घर भएका ६६ वर्षीय तिलकबहादुर श्रेष्ठ छन्। कैलाली, गोदावरी नगरपालिका-२ तेधरी बस्ने ४६ वर्षीय मनोज भट्ट आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेका छन् भने कास्की, पोखरा महानगरपालिका-१६ देउराली डाँडा बस्ने ६२ वर्षीय गोविन्द दमै सोही ठाउँस्थित पहिरा वन सामुदायिक जंगल नजिकै मृत अवस्थामा फेला परेका छन्।
यस्तै ललितपुर, ललितपुर महानगरपालिका-४ धोवीघाट बस्ने बर्दिया घर भएकी १८ वर्षीया सिम्रन थारू आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी छिन्। पर्सा, वीरगन्ज महानगरपालिका-१६ स्थित नेपाल भारत सिमाना मितेरी पुल नजिकै हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन्। यस बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।