ख्वप विश्वविद्यालय विधेयकमा संवैधानिक जटिलता देखिएका कारण ढिलाई हुन पुग्यो : शिक्षा मन्त्री

भक्तपुर न्यूज

१६ पुष २०८१ १७:१३

ख्वप विश्वविद्यालय विधेयकमा संवैधानिक जटिलता देखिएका कारण ढिलाई हुन पुग्यो : शिक्षा मन्त्री

भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले लामो समयदेखि विचाराधीन रहेको ख्वप विश्वविद्यालय विधेयकमा संवैधानिक जटिलता देखिएका कारण ढिलाई हुन पुगेको बताएकी छन् ।

मन्त्री भट्टराईले आज भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज, ख्वप अस्पताल, ख्वप ईञ्जिनियर कलेज लगायतको निरीक्षण गर्दै संविधानको व्याख्याअनुसार विश्वविद्यालय चलाउने अधिकार केन्द्र र प्रदेशलाई मात्र भएको र स्थानीय तहलाई माध्यमिक तहसम्मको अध्ययन गराउने अधिकार भएकाले ख्वप विश्वविद्यालय सञ्चालनमा आउन जटिलता देखिएको स्पष्ट पारिन् ।

मन्त्रिपरिषद्मा बिचराधीन ख्वप विश्वविद्यालय विधेयकमा थप छलफल आवश्यक रहेको बताउँदै उनले प्रतिनिधिसभा सदस्य प्रेम सुवाल र नगरप्रमुख सुनिल प्रजापतिलाई संवैधानिक जटिलताको विषयमा छलफलका लागि मन्त्रालय आउन निमन्त्रणासमेत गरिन् । उनले मन्त्रिपरिषद्मा पुगेको विधेयकको विषयमा केन्द्र, प्रदेश र स्थानीय तहको सहअस्तित्वमा रहने गरी पारित गर्ने विषयमा कुनै बिमति नरहेको बताइन् ।

ख्वप विश्वविद्यालयको विधेयकलाई पूर्णता दिने विषयमा लामो समयदेखि छलफल चलिरहेको र यसले पूर्णता पाउनुपर्छ भन्ने पक्षमा आफू सहमत रहेको बताउँदै ख्वप विश्वविद्यालय विधेयक मन्त्रिपरिषद्मा पुगेको र त्यहाँ सकारात्मक छलफल भइरहेको उनले बताइन् ।

विश्वविद्यालयमा बन्द हड्ताल, तालाबन्दी र गुण्डागर्दी स्वीकार्य नभएको बताउँदै मन्त्री भट्टराईले विश्वविद्यालयमा हुने अराजनैतिक गतिविधि नियन्त्रण गर्न आवश्यक भएको बताइन् ।

प्रतिनिधिसभा सदस्य सुवालले संविधानमा शिक्षा सबैको साझा अधिकारको विषय रहेकाले स्थानीय तहले पनि विश्वविद्यालय चलाउन पाउनु पर्ने बताए । सकेसम्म चाँडै ख्वप विश्वविद्यालय विधेयक पारित गरिनु पर्ने बताउँदै उनले नगरपालिकाले सञ्चालन गरेका विभिन्न शैक्षिक संस्थाले ४१ हजार ७ सय ९८ विद्यार्थीलाई उच्च शिक्षा अध्ययन गर्न बाटो खोलिदिएकाले चाँडै विधेयक पारित गरेर ख्वप विश्वविद्यालय सञ्चालनमा ल्याई अध्ययन अनुसन्धानको बाटो खोलि दिन आग्रह गरे ।

नगरप्रमुख प्रजापतिले सस्तो सुलभ र गुणस्तरीय शिक्षा प्रदान गरेकै कारण ७७ जिल्लाका विद्यार्थीहरु नगरपालिकाले सञ्चालन गरेका विभिन्न शैक्षिक संस्थामा अध्ययन गरिरहेका बताए ।

प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले २०५६ सालमा ख्वप उच्च मावि, २०५८ सालमा ख्वप इञ्जिनियरिङ कलेज र ख्वप कलेज, २०६० सालमा ख्वप बहुप्राविधिक अध्ययन संस्थान, २०६५ सालमा ख्वप कलेज अफ इञ्जिनियरिङ र २०७९ सालमा ख्वप कलेज अफ लको स्थापना गरी ती कलेजमा हाल देशभरका सात हजारभन्दा बढी विद्यार्थी अध्ययन गरिरहेको मन्त्री भट्टराईलाई जानकारी गराउँदै ख्वप विश्वविद्यालय विधेयक स्वीकृत भएमा जनतालाई फाइदा हुने बताए ।

उनले नगरपालिकाले ख्वप विश्वविद्यालय स्थापना गरी सञ्चालन गर्न सल्लाघारीस्थित १०८ रोपनी जग्गा प्राप्तिको लागि नेपाल ट्रष्टसमक्ष पटक पटक पत्राचार समेत गरिसकेको बताए ।

प्रमुख प्रजापतिले ख्वप विश्वविद्यालय विधेयक मन्त्रिपरिषद्बाट चाँडै पारित गर्न मन्त्री भट्टराईलाई ज्ञापनपत्र समेत बुझाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *