जगत् स्मृति कप ब्याटमिन्टनको उपाधि : होना र चन्दले जिते
भक्तपुर । तेस्रो जगत् स्मृति कप ब्याटमिन्टन प्रतियोगिताको उपाधि पूर्णहरी होना र धिरज बहादुर चन्दले जितेका छन् ।
सोमबार भएको भेटान्स डबल तर्फको फाइनल खेलमा सुरेन्द्र लामा र विष्णु नारायण श्रेष्ठको जोडीलाई पराजित गर्दै उनीहरुले उपाधि जितेका हुन् । यसैगरी, दिपक बस्नेत र युवराज श्रेष्ठ तथा केशव कार्की र देन लामा तेस्रा भएका छन् । पहिलो, दोस्रो र तेस्रोलाई क्रमशः १५ हजार रुपैयाँ, १० हजार रुपैयाँ र ५ हजार नगद पुरस्कारसँगै शिल्ड र मेडल प्रदान गरिएको थियो ।
त्यस्तै, मेन्स डबलतर्फ महेश भट्टराई र तेज बहादुर कार्कीको जोडी प्रथम भए । उनीहरुले झविन्द्र राउत र विक्रम निरौलाको जोडीलाई पराजित गरेका थिए । यो समूहमा प्रेम तामाङ र दिपक खत्री साथै अनिश गुरुङ र संयोग बस्नेत तेस्रा भए । पहिलो, दोस्रो र तेस्रोलाई क्रमशः २० हजार रुपैयाँ, १० हजार रुपैयाँ र ५ हजार रुपैयाँसँगै शिल्ड र मेडल प्रदान गरिएको थियो ।
यसैगरी, महिला एकलतर्फ भने स्वर्लिन श्रेष्ठले उपाधि हात पारिन् । उनले सरुशा थापा मगरलाई पराजित गरिन् । त्यस्तै, टासी शेर्पा र सोमा गुरुङ तेस्रा भए । पहिलो, दोस्रो र तेस्रोलाई क्रमशः शिल्ड र मेडल प्रदान गरिएको थियो ।
तीन समूहमा खेलाइएको खेलमा कुल ८० टोलीका एक सय ५० जना खेलाडीको सहभागिता रहेको थियो । बिजेता खेलाडीहरुलाई बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले पुरस्कृत गरे ।