वर्ल्डलिङ्कमा फिनिश सरकारी कम्पनी फिनफण्डको १ अर्ब ४२ कराेड लगानी

भक्तपुर न्यूज

१३ मंसिर २०८१ १४:४४

वर्ल्डलिङ्कमा फिनिश सरकारी कम्पनी फिनफण्डको १ अर्ब ४२ कराेड लगानी

काठमाडौं । नेपालको प्रमुख इन्टरनेट सेवा प्रदायक वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडमा फिनल्याण्डको सरकारी फन्डिङ्ग कम्पनी फिनफण्डले एक करोड युरो (करिब एक अर्ब ४२ करोड) लगानी गरेको छ । ​वर्ल्डलिङ्कको विद्यमान फाइबर नेटवर्क विस्तार तथा विश्वस्तरीय डेटा सेन्टर सञ्चालनका लागि फिनफण्डले यो लगानी गरेको हो ।

बिहीबार आयोजित एक कार्यक्रममा फिनल्याण्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भीले ट्याभियोको उपस्थितिमा वर्ल्डलिङ्कका अध्यक्ष दिलीप अग्रवाल र फिनफण्डका वरिष्ठ लगानी प्रबन्धक एवं डिजिटल इन्फ्रास्ट्रक्चर र समाधान पोर्टफोलियो प्रमुख कुट्टी किल्पेलेइनले लगानी सम्झौतामा हस्ताक्षर गरे ।

फिनिश प्रविधि तथा उपकरण निर्माता नोकिया र वर्ल्डलिङ्कको सहकार्यले वर्ल्डलिङ्कका ग्राहकका लागि समग्र इन्टरनेट अनुभवलाई अझ भरपर्दो, तीव्र गतिको र थप विश्वसनीय बनाउने लक्ष्य राखिएको छ । डेटा सेन्टरको विस्तारले वर्ल्डलिङ्कका ग्राहक मात्र नभइ अन्य इन्टरनेट सेवा प्रदायक, टेलिकम र सार्वजनिक तथा निजी क्षेत्रका संस्थालाई पनि फाइदा पुर्‍याउने बताइएको छ ।

वर्ल्डलिङ्क नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक हो । यस कम्पनीले पाँच हजार बढीलाई रोजगारी दिएको छ । नेपालमा ३५ प्रतिशत ब्रोडब्यान्ड बजार हिस्सेदारी सहित कम्पनीले ९ लाख बढी घरपरिवारमा सेवा उपलब्ध गराउँदै आएको छ । वर्ल्डलिङ्कले पहिले पनि ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट (बीआईआई) र डोल्मा इम्प्याक्ट फण्ड (डीआईएफआईआई) मार्फत विदेशी लगानी भित्र्याएको थियो ।

फिनफण्ड एक विकास क्षेत्रको लगानीकर्ता हो, जसले दिगो भविष्य निर्माण गर्न र वैश्विक विकास चुनौतीहरू समाधान गर्न विभिन्न व्यवसायहरूमा लगानी गर्छ । फिनफण्डको ध्यान नवीकरणीय ऊर्जा, दिगो वन, दिगो कृषि, वित्तीय संस्था र डिजिटल पूर्वाधार जस्ता दिगो विकासका महत्वपूर्ण क्षेत्रहरूमा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *