यू-१९ एसिया कप खेल्न जाने नेपाली टोलीको बिदाइ

भक्तपुर न्यूज

११ मंसिर २०८१ १३:५०

यू-१९ एसिया कप खेल्न जाने नेपाली टोलीको बिदाइ

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले यू–१९ एसिया कपमा प्रतिस्पर्धा गर्ने नेपाली टोलीलाई बिदाइ गरेको छ ।

मंगलबार आयोजित एक कार्यक्रमबीच क्यानले नेपाली टोलीलाई बिदाइ गरेको हो । कार्यक्रममा नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्कालगायत राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव टंकलाल घिसिङको पनि उपस्थिति रहेको थियो ।

यसअघि प्रतियोगिताका लागि क्यानले हेमन्त धामीको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिसकेको छ । केही दिनअघि भारतको कनार्टक यू–१९ सँगको पाँच खेलको सिरिजको प्रदर्शनका आधारमा अन्तिम टोली तयार गरिएको हो । उक्त सिरिज नेपाली टोलीले ३–२ ले जितेको थियो ।

क्यानले पूर्वराष्ट्रिय खेलाडी शक्ति गौचनलाई टोलीको प्रमुख प्रशिक्षक र धीरेन्द्र चन्दलाई सहायक प्रशिक्षकको जिम्मेवारी दिएको छ । ५० ओभरको खेल एसिया कप मंसिर १४ देखि २३ गतेसम्म हुनेछ । मंसिर १४ गते नेपालले आफ्नो पहिलो खेल श्रीलंकासँग खेल्नेछ । दोस्रो खेलमा मंसिर १६ गते बंगलादेशको सामना गर्ने नेपालले अन्तिम खेल मंसिर १८ गते अफगानिस्तानसँग खेल्नेछ ।

एसीसीको आयोजनामा हुने प्रतियोगितामा एसियाका आठ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा एसियाका ५ टेस्ट राष्ट्र स्वत: छनोट भएका थिए । यूएई, नेपाल र जापान गत वर्ष मलेसियामा भएको एसीसी प्रिमियर कपको शीर्ष-३ मा रहेर छनोट भएका थिए । गत वर्षको अक्टोबरमा भएको यस प्रतियोगितामा यूएईलाई हराउँदै नेपाल च्याम्पियन भएको थियो ।

प्रतियोगितामा सहभागी ८ टोलीलाई २ समूहमा विभाजन गरिएको छ । नेपाल श्रीलंका, बंगलादेश र अफगानिस्तानसँगै समूह ‘बी’मा रहेका छन् । समूह ‘ए’मा भारत, पाकिस्तान, जापान र यूएई रहेका छन् । समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । फाइनल मंसिर २३ गते हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *