भारतका चर्चित क्रिकेटर शिखर धवनले कर्णाली याक्सबाट एनपिएल खेल्ने

भक्तपुर न्यूज

२९ कार्तिक २०८१ १३:४९

भारतका चर्चित क्रिकेटर शिखर धवनले कर्णाली याक्सबाट एनपिएल खेल्ने

काठमाडौं । भारतका चर्चित क्रिकेटर शिखर धवनले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने भएका छन् । उनले कर्णाली याक्सबाट एनपिएल खेल्ने भएका हुन् ।

कर्णालीले बिहीबार बिहान धवनलाई टिममा अनुबन्ध गरेको जनाएको हो । उनी चौथो विदेशी खेलाडीको रूपमा कर्णालीमा अनुबन्ध भएका हुन् । यसअघि कर्णालीले वेस्ट इन्डिजका चाडविक वाल्टन, पाकिस्तानका अलराउन्डर मोहम्मद हुसैन तलात र हङकङका बाबर हायतलाई अनुबन्ध गरिसकेको छ ।

धवन र कर्णालीबीच सोमबार भारतमा सम्झौता भएको कर्णाली याक्सका सहमालिक गृहेन्द्र घिमिरेले जानकारी दिए । सम्झौताअनुसार उनले एनपिएलमा कम्तीमा चारवटा म्याच खेल्नेछन् ।

धवनले भारतका लागि तीनवटै फर्म्याटमा क्रिकेट खेलिसकेका छन् । यस्तै, उनले दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स, सनराइजर्स हैदरावाद र पञ्जाव किंंग्सबाट आइपिएल खेलेका छन् । धवनले आइपिएलमा २२२ खेलमा ६ हजार ७ सय ६९ रन बनाएका छन् ।

उनी आइपिएलमा सर्वाधिक रन बनाउने मामलामा दोस्रो स्थानमा छन् । ​धवनले भारतको लागि ३२ टेस्टमा २ हजार ३ सय १३ तथा १ सय ६७ एकदिवसीय खेलमा ६ हजार ७ सय ९३ रन बनाएका छन् । त्यस्तै, उनले ६८ टी–२० अन्तर्राष्ट्रिय खेलमा १ हजार ७ सय ५९ रन बनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *