साफ वुमन्स च्याम्पियनसिप सकिएलगत्तै फ्रान्स फर्किए साम्बा

भक्तपुर न्यूज

१५ कार्तिक २०८१ ११:५२

साफ वुमन्स च्याम्पियनसिप सकिएलगत्तै फ्रान्स फर्किए साम्बा

काठमाडौं । साफ वुमन्स च्याम्पियनसिप २०२४ सकिएलगत्तै नेपाली राष्ट्रिय टोलीकी फरवार्ड सावित्रा भण्डारी साम्बा फ्रान्स फर्किएकी छन् । बुधबार राति साफको फाइनल खेलेकी सावित्रा बिहीबार बिहानै व्यावसायिक फुटबल खेल्ने फ्रान्स लागेकी हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको फाइनलमा नेपाल बंगलादेशसँग २-१ ले पराजित हुँदै छैटौंपटक उपविजेता बनेको थियो । फ्रान्सको शीर्ष श्रेणीको महिला फुटबल लिग ‘प्रिमियर लिग’ मा इए अभान्ट गुएग्यापबाट खेलिरहेकी सावित्रा राष्ट्रिय टिमबाट साफ च्याम्पियनसिप खेल्ने नेपाल आएकी थिइन् ।

उनले समूह चरणमा एक खेल मात्र खेलिन् भने सेमिफाइनल र फाइनल गरी कुल तीन खेल खेलिन् । जसमा दुई गोल गरिन् । भुटानविरुद्ध पहिलो खेल फिफा विन्डोमा नरहेकोले क्लबले उनलाई ढिला रिलिज गरेको थियो । अक्टोबर २० मा नेपाल आइपुगेर भोलिपल्ट माल्दिभ्सविरुद्धको खेलका लागि उपलब्ध भएपनि उनले खेलिनन् ।

प्रशिक्षक राजेन्द्र तामाङले आवश्यक परेमा प्रयोग गर्ने बताए पनि सावित्राले खेल्नुपरेन । माल्दिभ्सविरुद्ध नेपाल ११-० को फराकिलो अन्तरले विजयी भएको थियो । सेमिफाइनलमा भारतविरुद्ध एक गोलले पछि परेको स्थितिमा सावित्राले बराबरी गोल फर्काउँदै खेललाई पेनाल्टीसुटआउटसम्म पुर्‍याएकी थिइन् ।

उनले सुटआउटमा गोल पनि गरिन् । नेपालले पेनाल्टीसुटआउटमा भारतलाई ४-२ ले हराएर फाइनल पुगेको थियो । तर, लगातार दोस्रोपटक बंगलादेशसँग फाइनलमा पराजित हुँदा पहिलोपटक साफ जित्ने नेपालको लक्ष्य पूरा हुन सकेन ।

उता सावित्राले भने लगत्तै क्लबमा सामेल हुनेछिन् । उनको क्लब गुएग्याम्पले आउने शनाबर लिगमा मोन्टपिलरसँग खेल्दैछ । नेपाल आउनुअघि स्ट्रासवर्गलाई हराउँदै गुएग्याम्पले लिगमा पहिलो जित हात पारेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *