साफ महिला च्याम्पियनसिपको फाइनल खेलको टिकट एन्फाले बिक्री गर्ने

भक्तपुर न्यूज

१३ कार्तिक २०८१ १६:०२

साफ महिला च्याम्पियनसिपको फाइनल खेलको टिकट एन्फाले बिक्री गर्ने

काठमाडौं । साफ महिला च्याम्पियनसिपअन्तर्गत नेपाल र बंगलादेशबीचको फाइनल खेलको टिकट अखिल नेपाल फुटबल संघ (एन्फा) आफैँले बिक्री गर्ने भएको छ ।

मंगलबार एन्फाले माउन्ट एभरेस्ट स्पोर्टस एन्ड इभेन्ट्स प्रालिसँगको सम्झौता रद्द गर्दै फाइनल खेलको टिकट आफैँले बिक्री गर्ने जानकारी दिएको हो । यसअघि माउन्ट एभरेस्टले टिकट बिक्री गर्दै आएको थियो । साफ महिला च्याम्पियनसिपका लागि माउन्ट एभरेस्टले टेन्डरमार्फत ८० लाख रुपैयाँमा टिकट बिक्रीको अधिकार पाएको थियो ।

एन्फाले नेपाल र बंगलादेशबीचको फाइनल खेलका लागि तीन ठाउँबाट टिकट बिक्री गरिने जनाएको छ । एन्फाका अनुसार भोलि (बुधबार) बिहान ८ बजेदेखि जावलाखेलस्थित खेल मैदान, सातदोबाटोस्थित एन्फा मुख्यालय र भद्रकालीस्थित आर्मी अफिसियल केन्द्रबाट फाइनलको टिकट बिक्री हुनेछ ।

यसअघि अनलाइनमार्फत टिकट लिइसकेकाहरूको पैसा फिर्ता गरिने एन्फाले जनाएको छ । साधारण प्यारापिटतर्फ १० हजार टिकट मात्रै बिक्री गरिने पनि एन्फाले जनाएको छ । एक जनाले भीआईपीतर्फ दुईवटा र साधारण प्यारापिटतर्फ पाँचवटा मात्रै टिकट लिन पाउनेछन् ।

नेपाल र भारतबीचको सेमिफाइनल खेलमा दशरथ रंगशालाको क्षमताभन्दा बढी टिकट बिक्री गरेको पाइएपछि एन्फाले माउन्ट एभरेस्टसँगको सम्झौता रद्द गर्दै आफैँले टिकट बिक्री गर्ने भएको हो । उक्त खेलमा १५ हजार दर्शक क्षमता रहेको रंगशालामा १८ हजारभन्दा बढी दर्शकलाई प्रवेश दिइएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *