एकजुट भएर काम गरेमा नेपालको विकास सम्भव : प्रधानमन्त्री

भक्तपुर न्यूज

११ कार्तिक २०८१ ११:५९

एकजुट भएर काम गरेमा नेपालको विकास सम्भव : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका लागि पूर्वाधार तयार भइसकेकाले एकजुट भएर काम गरेमा नेपालको विकास सम्भव हुने बताए ।

गैरआवासीय नेपाल संघ (एआरएन) द्वारा आइतबार आयोजत गैरआवासीय नेपाली दिवस र वार्षिक साधारणभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रविधि र उपकरण बढ्दो भएकाले विकास गर्न नसकिने भन्ने नहुने बताएका हुन् । “नेपालमा विकासका लागि बाटाघाटा र आवश्यक पूर्वाधार बनेका छन् । अहिले दुर्गम भन्ने कुनै जिल्ला र भूभाग छैन । मिलेर काम गरेमा मुलुकलाई समृद्ध बनाउन सकिन्छ ।”

प्रधानमन्त्री ओलीले आफूहरुले हतियार नचलाए पनि कसरी बिसाउनुपर्छ भन्ने जानेकाले ‘हतियार बिसाएका मात्रै हौं’ भनेर कुनै पक्षबाट धम्की आउन नहुने पनि बताए ।

प्रधानमन्त्री ओलीले गैरआवासीय नेपाली संघको छविलाई कायम गरी संगठनलाई एकताबद्ध राख्न र ‘राजनीतिक टग अफ वार’ नगर्न आग्रह गरे । उनले सरकारको तर्फबाट संघलाई कुनै हस्तक्षेप नहुने भएकाले स्वतन्त्ररुपमा काम गर्न आग्रह गर्दै भने, “म अहिले प्रधानमन्त्री छु, म देशको प्रधानमन्त्री हो । एमालेको मात्रै प्रधानमन्त्री होइन । राष्ट्रपति पनि त्यही हो, राष्ट्रपति दल विशेषको हुँदैन, राष्ट्रको प्रमुख हुन्छ । सभामुख, प्रधानन्यायाधीश सबै पद साझा पद हुन् । हामीले त्यस हैसियतले काम गर्ने हो ।”

आफू सन् १९९९ तिर मस्को जाँदा डा. उपेन्द्र महतोसँग गैरआवासीय नेपाली अभियानबारे कुरा भएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले एनआरएनलाई पहिचान र आवश्यक सुविधान दिन सरकारले कञ्जुस्याईँ नगर्ने पनि स्पष्ट गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *