चिसो बढेसँगै आवश्यक सतर्कता अपनाउन मौसम विभागको अनुरोध

भक्तपुर न्यूज

२९ असोज २०८१ ७:३७

चिसो बढेसँगै आवश्यक सतर्कता अपनाउन मौसम विभागको अनुरोध

काठमाडौं । देशमा अहिले मनसुन बाहिरिएर ‘पोस्ट’ मनसुन चलिरहेको छ। सँग-सँगै पछिल्ला दिनमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले मुलुकका कतिपय स्थानमा बदली र वर्षा भइरहेको छ।

मनसुन सकिएर पोष्ट मनसुन चलिरहेकाले क्रमशः चिसो बढ्दै गएको मौसमविदले बताएका छन्। यही असोज ११ र १२ गतेको अविरल वर्षापछि मौसम सुधार आएको छ। गत असोज २७ गते नेपालबाट मनसुन पूर्ण रूपमा बाहिरिएको थियो। खुला आकाश भएकाले दिउँसो घाम लागेपनि साँझ र बिहान निकै चिसो महसुस गरिएको छ।

संघीय राजधानी काठमाडौं उपत्यकामा पछिल्लो एक सातामा चिसो क्रमिक रुपमा बढिरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद् सञ्जिव अधिकारीका अनुसार यही असोज १५ गते काठमाडौंको न्यूनतम तापक्रम २० डिग्री सेल्सियस हाराहारी रहेकामा त्यसको एक सातापछि अर्थात हिजो र आज न्यूनतम तापक्रम १६ डिग्री हाराहारी कामय रहेको छ।

महाशाखाको विवरणमा आइतबार काठमाडौंको न्यूनतम तापक्रम १४ दशमलव ७ डिग्री सेल्सियस पुगेको थियो। सोमबार १६ डिग्री सेल्सियस छ। काठमाडौंसहित देशका अधिकांश स्थानमा ह्वात्तै तापक्रम घटेको छ। मौसमविद् अधिकारीले दुई सातामा पाँच डिग्री तापक्रम घट्नुले चिसो बढाएको देखिएको उनले बताए।

पोस्ट मनसुनपछि चिसो मौसम शुरू हुने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ। लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेस र बाग्मती प्रदेशमा आंशिक प्रभाव पर्नुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ।

आज दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। तीनवटै प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ। रातिको समयमा पनि कोशी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय