सिङमा हरियो रङ लगाएको खसीबोका मात्र किन्न सुझाव
काठमाडौं । दशैंलाई लक्षित गरी राजधानी भित्रने खसी, बोका, भेडा, च्याङ्ग्राको पशुचिकित्सकसहितको टोलीले परीक्षण गरिरहेको छ ।
राजधानी भित्रने अधिकांश पशु अस्वस्थ भेटिएपछि पशुचिकित्सकसहितको टोलीले सबै खसी, बोका, भेडा, च्याङ्ग्राको स्वास्थ्य परीक्षण गरिरहेको हो ।
सो टोलीले राजधानीका विभिन्न स्थानमा बेचबिखनका लागि राखिएका खसीबोकाको स्वास्थ्य परीक्षण गरेर सिङमा दुई थरी रङ लगाएका छन् ।
चौपाया निरोगी भए सिङमा हरियो चिन्ह लगाएको छ भने रोगी भए रातो चिन्ह लगाएको छ । उपभोक्ताले चौपाया खरिद गर्दा सिङमा हरियो रङ लागेका मात्र खरिद गर्न पशु सेवा विभागले उपभोक्तालाई आग्रह गरेको छ ।
यसैगरी, काठमाडौं उपत्यकामा खसीबोका पश्चिम तराई र आसपासका सल्यान, सुर्खेत, रुकुम, रोल्पा, गुल्मी, अर्घाखाँचीबाट भित्रने क्रम सुरु भएको छ । बाढीपहिरोका कारण बाटो अवरुद्ध हुँदा खोटाङ, ओखलढुङ्गा, रामेछाप, सिन्धुली, उदयपुर र काभ्रेबाट खसीबोका ल्याउन कठिन भएको चौपाया खरिद बिक्री संघका अध्यक्ष सन्तोषबहादुर खत्रीले जानकारी दिए । हरेक वर्ष दशैंमा काठमाडौं उपत्यकामा ४५ हजार खसीबोका ल्याइने गरेको छ । यसैगरी मनाङ र मुस्ताङबाट भेडाच्याङ्ग्रा र ल्याइँदै छन् ।
काठमाडौं उपत्यकामा अहिले तराईका खसी जिउँदो प्रतिकिलो सात सय २० देखि सात सय ५५, पहाडका खसी ६ सय ७० देखि सात सय पाँच, बोका ६ सय ७० देखि सात सय २० सम्म र च्याङ्ग्रा प्रतिकिलो एक हजार तीन सय रुपैयाँमा बिक्री भइरहेका छन् । काठमाडौं उपत्यकाको टुकुचा खोला किनारको बजारबाट ११ हजार खसीबोका बिक्री हुने गरेका अध्यक्ष खत्रीले जानकारी दिए ।