सलोनको फिल्म ‘रंगी’बाट डेब्यु गर्दै पूर्वमिस नेपाल नम्रता श्रेष्ठ

भक्तपुर न्यूज

२८ भदौ २०८१ ६:०४

सलोनको फिल्म ‘रंगी’बाट डेब्यु गर्दै पूर्वमिस नेपाल नम्रता श्रेष्ठ

काठमाडौं । पूर्वमिस नेपाल नम्रता श्रेष्ठले फिल्म अभिनयमा डेब्यु गर्ने भएकी छन्। सलोन बस्नेत प्रस्तुतकर्ता रहने फिल्म ‘रंगी’ बाट उनले डेब्यु गर्ने तय भएको हो। नम्रता सन् २०२० को मिस नेपाल विजेता हुन्।

फिल्मको स्क्रिप्ट अनुसार आफ्नो क्यारेक्टर मन परेकाले काम गर्न सहमत भएको नम्रताले बताइन् । नम्रताले यसअघि आफूलाई एक वेब सिरिजको लागि अफर आए पनि आफ्नो भूमिका चुनौतिपूर्ण र विवादास्पद हुने लागेकाले अभिनय नगरेको खुलाइन्।

‘रंगी’ लाई सुरेश न्यौपानले निर्देशन गर्नेछन्। ‘छक्का पन्जा, ए मेरो हजुर २, यात्रा, म यस्तो गीत गाउँछु २, कृ’ लगायतका फिल्ममा मुख्य सहायक निर्देशनको अनुभव संगालेका न्यौपानले यही फिल्ममार्फत निर्देशनमा डेब्यु गर्न लागेका हुन्।

यसअघि निर्माण पक्षले फिल्मको टाइटल पोस्टर सार्वजनिक गरेको थियो। जहाँ साइकलमा बसिरहेकी एक बालिका र उनीसँग खेल्दै गरेका एक पुरुष देखाइएको छ। उनीहरू बाबु छोरी रहेको अनुमान लगाउन सकिन्छ। पृष्ठभूमिमा सूर्यास्त हुँदै गरेको देखाइएको छ। फिल्मले बाबु छोरीको कथालाई चित्रण गर्ने अनुमान गर्न सकिन्छ।

सक्षम सुवेदीको निर्माण रहने फिल्ममा सुमन गजमेरको लेखन छ। फिल्ममा सौरभ लामा छायाँकारका रुपमा अनुबन्धित भइसकेका छन्। सलोन सलिना फिल्मस् प्रालिको ब्यानरमा यो फिल्म निर्माण हुन लागेको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय