रिक्त सबै संवैधानिक पदमा नियुक्ति सिफारिस गर्न प्रधानमन्त्रीलाई प्रचण्डको आग्रह
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रिक्त सबै संवैधानिक पदमा नियुक्ति सिफारिस गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।
बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्रीसँगको भेटमा पूर्वप्रधानमन्त्री प्रचण्डले संवैधानिक निकायहरू लामो समय रिक्त राख्दा राम्रो सन्देश नजाने भन्दै प्रधानमन्त्रीलाई सम्भव भएसम्म शुक्रबार बस्ने संवैधानिक परिषद्को बैठकमार्फत पूर्णता दिन आग्रह गरेका हुन् ।
बालुवाटारमा प्रधानमन्त्री ओली, कांग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता र छलफल भएको थियो ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार उनीहरुबीच संवैधानिक परिषद्को बैठकका लागि परामर्श र समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न बुधबार बोलाएको बैठक अन्तिम समयमा स्थगित भएको थियो ।
