प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद्को बैठकमा अनिवार्य उपस्थितिका लागि मन्त्रीहरूलाई आग्रह
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली एक्सनमा उत्रिएका छन् । उनले आफ्ना सबै मन्त्रीहरूलाई दिउँसो २ बजे सिहंहदरबारमा हाजिर हुन भनेका छन् । मन्त्रीहरूको कार्य सम्पादन क्षमतामाथि प्रशासनिक र जनस्तरबाट प्रश्न उठिरहँदा प्रधानमन्त्री ओलीलले आफ्ना मन्त्रीहरूलाई सिंहदरबारमा उपस्थित हुन आह्वान गरेका हुन् ।
गत असार ३० गते कांग्रेस एमालेको सरकार बनेको आज ५७ दिन पुगिसकेको छ। प्रधानमन्त्रीले मन्त्रीहरुसँग मन्त्रालयगत कामको विवरण माग्ने कार्यक्रम रहेको प्रधानमन्त्री कार्यालयका सहसचिव एवं प्रवक्ता प्रेमप्रसाद आचार्यले जानकारी दिए ।
मन्त्रीहरुको ब्रिफिङ सुनेपछि प्रधानमन्त्रीले आवश्यक निर्देशन दिने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीले आज साँझ मन्त्रिपरिदको बैठक पनि बोलाएका छन् ।
चाडपर्व नजिकिँदा जनताका कामहरू छिटोछरिटो सक्याउनुपर्नेमा त्यसो नभएको प्रधानमन्त्रीको गुनासो रहेको छ । जनतामा व्याप्त निराशालाई चिर्न के–कस्तो काम सम्पन्न गर्नुपर्ने हो त्यसको ठोस योजनामाथि पनि छलफल हुने बताइएको छ ।