भारतमा एक युवकमा देखियो मंकीपक्स, राखियो आइसोलेसनमा
काठमाडौं । भारतमा एक युवकमा मंकीपक्स अर्थात् एमपक्सको संक्रमण पुष्टि भएको छ । हरियाणाको हिसारका एक २६ वर्षीय युवकमा एमपक्स देखिएको हो ।
बिरामीलाई शनिबार दिल्लीको एलएनजेपी अस्पतालमा भर्ना गरिएको बताइएको छ । ती व्यक्तिले हालै मंकीपक्स संक्रमणबाट पीडित देशको यात्रा गरेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आइसोलेसनमा राखेर अहिले बिरामीको उपचार भइरहेको छ । मन्त्रालयका अनुसार उनको स्थिति स्थिर रहेको छ अनि उनमा अन्य कुनै रोग देखिएको छैन । उनलाई देखिएको एमपक्स वेष्ट अफ्रिकन क्लेड २ भ्यारिएन्टको भएको मन्त्रालयले एउटा विज्ञप्तिमा भनेको छ । पछिल्लो समय यो भेरियन्ट विश्वभरि द्रुत गतिमा फैलिरहेको छ ।
मंकीपक्स धेरै अवस्थामा गम्भीर र घातक मानिने भएकाले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले यसलाई विश्व स्वास्थ्य आपत्काल घोषणा गरेको छ । मंकीपक्सको बढ्दो खतरालाई ध्यानमा राख्दै भारतमा पनि अलर्ट जारी गरिएको छ ।