लिग २ खेल्न क्यानडा जाने नेपाली टोलीको बिदाइ
काठमाडौं । आइसिसी विश्वकप लिग–२ खेल्न क्यानडा जाने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टोलीका सदस्य र व्यवस्थापकलाई एक कार्यक्रमका बीच मंगलबार बिदाइ गरिएको हो ।
क्यानडामा भदौ ३१ गतेदेखि हुने नेपाल, क्यानडा र ओमानबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्ने नेपाली टोली मंगलबार राति नै क्यानडा प्रस्थान गर्नेछ ।
क्यानडा भ्रमणका क्रममा नेपालले सेप्टेम्बर १६ र २२ मा क्यानडासँग खेल्नेछ भने सेप्टेम्बर १८ र २४ मा ओमानसँग खेल्नेछ ।
लिग २ पछि नेपाल, ओमान र क्यानडाबीच त्रिकोणात्मक टी–ट्वान्टी आई सिरिज पनि हुनेछ ।
क्यानडा भ्रमणका लागि क्यानले १६ सदस्यीय टोली घोषणा गरिसकेको छ । साथै जगत टमटालाई कन्सल्टेन्ट कोचसमेत नियुक्त गरेको छ ।
लिग–२ खेल्ने नेपाली टोलीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्सन झा, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजवंशी, देव खनाल (ट्राभलिङ रिजर्भ) छन् ।