राजकुमार राव र श्रद्धा कपुर अभिनित चलचित्र ‘स्त्री २’ ५ सय करोड क्लबमा
काठमाडौं । राजकुमार राव र श्रद्धा कपुर अभिनित बलिउड चलचित्र स्त्री २ बक्स अफिसमा ५ सय करोड क्लबमा सामेल भएको छ । रिलिज भएको तेस्रो हप्तामा चलचित्रले यो कोशेढुंगा पार गरेको हो ।
स्त्री २ को क्रेज अझै समाप्त भएको छैन । विश्लेषकहरुले चलचित्रले ६ सय करोड भारतीय रुपैयाँसम्म कमाउन सक्ने आङ्कलन गरेका छन् । यो चलचित्र गत अगस्त १५ मा रिलिज भएको थियो । आइतबार २२.१० करोड भारतीय रुपैयाँ कमाउँदै चलचित्रले कूल ५०२.३५ करोड भारु कमाइसकेको छ ।
५ सय करोड क्लबमा सामेल हुने स्त्री २ छैटौँ चलचित्र बनेको छ । यसअघि पठान, जवान, गदर २, एनिमल र बाहुबलीले ५ सय करोडभन्दा बढीको कमाई गरेको थियो । चलचित्रले पहिलो हप्तामा ३०७.८० करोड भारु कमाएको थियो ।
दोस्रो हप्ता १४५.८० करोड कमाएको चलचित्रले तेस्रो हप्ता ४८.७५ करोड कमायो । कमर कौसिकद्वारा निर्देशन गरिएको चलचित्रले दुईवटा चलचित्रसँग भिडे पनि उसको कमाइमा खासै असर परेको देखिएको छैन ।
