साफ यू-२० च्याम्पियनसिपका खेल एन्फा कम्प्लेक्समा हुने

भक्तपुर न्यूज

३१ साउन २०८१ १२:१७

साफ यू-२० च्याम्पियनसिपका खेल एन्फा कम्प्लेक्समा हुने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ यू-२० च्याम्पियनसिपका खेलहरु सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने जनाएको छ ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एन्फाले दक्षिण एसियाली फुटबल महासंघको क्यालेन्डर अनुसार भाद्र २ गते देखि १२ गतेसम्म हुने साफ यू-२० च्याम्पियनसिपको तयारी पूरा भएको र खेलहरु एन्फा कम्प्लेक्समा हुने जनाएको हो ।

एन्फाका प्रवक्ता सुरेश शाहले सेमिफाइनल र फाइनल खेल दशरथ रंगशालामा गर्ने तयारी गरेपनि रंगशालाको अवस्थाका कारण कठिन भएको बताए । म्याच कमिस्नरले निरिक्षणपछि मात्रै सेमिफाइनल र फाइनल खेलहरु दशरथ रंगशाला हुने वा नहुने टुङ्गो लाग्ने उनले बताए । अहिलेका लागि रंगशालाको बिकल्पमा रुपमा एन्फा कम्प्लेक्सलाई स्वीकृत गराइएको जानकारी दिए ।

प्रवक्ता शाहले रंगशालाको मर्मत सम्भार राम्रोसंग नभएकाले अहिलेको अवस्था आएको उल्लेख गरे । यू-२० च्याम्पियनसिपमा सहभागी हुने ६ राष्ट्रलाई २ समूहमा विभाजन गरिएको छ । समूह ए मा नेपाल सहित बंगलादेश र श्रीलंका रहेका छन् ।

समुह बी मा भारत, माल्दिभ्स र भुटान रहेका छन् । नेपाल र श्रीलंकाले उद्घाटन खेलमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको अनुमानित बजेट रु ३ करोड १० लाख ५३ हजार ९ सय रहेको एन्फाले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *