कान्ति बाल अस्पताललाई अन्तर्राष्ट्रिय मापदण्डको बनाउने स्वास्थ्यमन्त्री पौडेलको उद्घोष
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले कान्ति बाल अस्पताललाई अन्तर्राष्ट्रिय मापदण्डको बनाउने उद्घोष गरेका छन्। बुधबार कान्ति बाल अस्पतालको निरीक्षणपछि मन्त्री पौडेलले यस्तो उद्घोष गरेका हुन्।
उनले सफाइ र सेवाको प्रभावकारिता बढाउन समेत आग्रह गरेका छन्। मन्त्री पौडेलले भने, ‘यहाँ आइसकेपछि आफूलाई बेवास्ता भएको महसुस सेवाग्राहीले नगरून् । यहाँ सीमित स्रोत र साधनमा भइरहेको काम प्रसंशनीय छ, यद्यपि तपाईंहरूको अझै धेरै सक्रियता राज्य र जनताले खोजेको छ।’
आफू यसै क्षेत्रको सांसदका रुपमा प्रतिनिधित्व गर्ने भएकाले पनि यस अस्पतालसँग र यहाँका समस्यासँग आफू जानकार रहेको मन्त्री पौडेलले बताए। मन्त्री पौडेलले चिकित्सकले यसलाई पेसासँगै सामाजिक दायित्वका रुपमा लिनुपर्नेमा जोड दिए। उनले वीर अस्पतालझैँ चिकित्सक र कर्मचारीले सेवा सुविधा नपाएको सुनिएकाले त्यसमा सक्दो समानता ल्याउने बताए।