काठमाडौं विश्वविद्यालाय र धुलिखेल अस्पतालको सहकार्य कायम राख्न ओलीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं विश्वविद्यालय र धुलिखेल अस्पतालबीचको सहकार्यलाई कम्तीमा आगामी पाँच वर्षसम्म कायम राख्न निर्देशन दिएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भएको काठमाडौं विश्वविद्यालयको ९७औँ सभामा कुलपतिका हैसियतले प्रधानमन्त्री ओलीले विश्वविद्यालय र अस्पतालबीचको बेमेल आपसमा बसेर समाधान गर्न निर्देशन दिएका हुन् । धुलिखेल अस्पतालले प्रदेश सरकारबाट प्रतिष्ठानको स्वीकृति लिन लागेको र विश्वविद्यालयले आफ्नै अस्पताल खोल्ने तयारी गरेको सन्दर्भमा दुई संस्थाबीच विवाद र अन्योल उत्पन्न भएको थियो ।
सभामा धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्याञ्जुले विश्वविद्यालयले अस्पतालसँगको सम्बन्ध एकाएक तोड्न नमिल्ने विचार राखेपछि प्रधानमन्त्री ओलीले यस विषयमा उपकुलपति डा. भोला थापालाई स्पष्ट पार्न समय दिएका थिए । पूर्वउपकुलपति डा. सुरेशराज शर्मासहितको राय लिएर ओलीले हाल दुवै संस्थाको सम्बन्ध कायम राख्न आवश्यक ठानेका हुन् ।
प्रधानमन्त्री ओलीले सिट क्षमताअनुसार विश्वविद्यलायमा विद्यार्थी भर्ना हुने अवस्था ल्याउन पनि सुझाव दिए ।