एक वर्षमै १ लाख १२ हजार विद्यार्थीले लिए एनओसी
काठमाडौं । गत आर्थिक वर्ष (२०८०/०८१)मा वैदेशिक अध्ययनका लागि १ लाख १२ हजार ५९३ जनाले अनुमतिपत्र ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिएको पाइएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार २०८० साउन १ देखि २०८१ असर ३१ सम्म कुल ६६ देशका लागि १ लाख १२ हजार ५९३ जनाले एनओसी पाएका हुन्, जसमध्ये प्रायजसो जापान, अमेरिका, यूके, कोरिया, अस्ट्रेलिया, क्यानडाका लागि अनुमति लिएकाहरू छन् ।
सबैभन्दा बढी एनओसी जापान जाने विद्यार्थीहरूका लागि दिइएको छ । जापानका लागि ३४ हजार ७३१, क्यानडाका लागि १५ हजार ९८२, अस्ट्रेलियाका लागि १४ हजार ३७२, युनाइटेड किङ्डम (यूके)का लागि १३ हजार ३३९, युनाइटेड स्टेट्स अफ अमेरिका (यूएसए) का लागि ११ हजार २६१ जनाले अध्ययन अनुमतिपत्र पाएका छन् ।
विषयगतरूपमा भने भाषा अध्ययनका लागि जापान जान भनेर ३३ हजार ६९७ जनाले अनुमति पाएका छन् । जापान जाने विद्यार्थीहरूले त्यहाँ गएर शुरूमा जाप्निज भाषा पढ्नुपर्छ । त्यसपछि व्यवस्थापन विषय अध्ययनका लागि २८ हजार ८९१ जना र व्यवसायसम्बन्धी अध्ययनका लागि १० हजार २९ जनाले अनुमति पाएका छन् ।
कम्प्युटर साइन्स विषयका लागि ४ हजार ९९२ जना, हस्पिटालिटी विषयका लागि २ हजार ५४३ जना, सूचना प्रविधि विषयका लागि ५ हजार ९११ जना, स्वास्थ्य विषयका लागि ४ हजार १५९ जना, विज्ञान तथा प्रविधि विषयका लागि ४ हजार १०२ जनाले अनुमति पाएका छन् ।
इन्जिनियरिङ विषय अध्ययनका लागि ४ हजार ४२६ जना, आर्ट्स विषय अध्ययनका लागि १ हजार ८१३ जना, विज्ञान विषय अध्ययनका लागि ५ हजार ३८४ जनाले अनुमति पाएका छन् ।
१ लाख १२ हजार ५ सय ९३ जनाले वैदेशिक अध्ययन अनुमति प्राप्त गरे पनि कति जना अध्ययन गर्न गए वा गएनन् भन्ने कुराको अभिलेख वा तथ्यांक शिक्षा मन्त्रालयसँग छैन । मन्त्रालयका सूचना अधिकारी शंकर अधिकारीले आफूहरूसँग वैदेशिक अध्ययन अनुमति पत्रको तथ्यांक मात्र रहेको बताए ।
स्टुडेन्ट भिसामा कति विद्यार्थी गए भन्ने यकिन तथ्यांक अध्यागमन विभागमा हुने उनको भनाइ छ । त्यसैगरी, उच्च शिक्षा अध्ययन गर्न गएका विद्यार्थीले कति रकम लगे भन्ने कुराको तथ्यांक पनि मन्त्रालयमा नहुने उनले बताए । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्षको साउनदेखि जेठ महिनासम्ममा वैदेशिक अध्ययनका नाममा १ खर्ब ११ अर्ब ४६ करोड रुपैयाँ बाहिरिएको छ ।
आर्थिक वर्ष २०७९/०८० मा १ लाख १० हजार २१७ जना, आर्थिक वर्ष २०७८/०७९ मा १ लाख २ हजार ५०४ जना, आर्थिक वर्ष २०७७/०७८ २८ हजार ८८३ जनाले एनओसी लिएका थिए । त्यसैगरी आर्थिक वर्ष २०७६/०७७ मा ३३ हजार १९६ जना, आर्थिक वर्ष २०७५/७६ मा ६३ हजार ४१७ जना, आर्थिक वर्ष २०७४/०७५ मा ५८ हजार ७५८ जना, आर्थिक वर्ष २०७३/०७४ मा ५० हजार ७९६ जना र आर्थिक वर्ष २०७२/०७३ मा ३७ हजार १४८ जनाले एनओसी लिएको शिक्षा मन्त्रालयको तथ्यांक छ ।
हेर्नुहोस् विवरण :