८ वर्षमा आधा घट्यो विद्युत् चुहावट, प्रति वर्ष १२ अर्ब रुपैयाँ थप आम्दानी
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विगत आठ वर्षको अवधिमा प्रसारण तथा वितरण प्रणालीमार्फत भइरहेको विद्युत् चुहावटलाई आधा घटाएको छ ।
आर्थिक वर्ष २०७२र७३ मा प्रणालीबाट २५ दशमलव ७८ प्रतिशत भइरहेको विद्युत् चुहावटलाई आधा घटाएर गएको आर्थिक वर्ष २०८०/८१ मा १२ दशमलव ७३ प्रतिशतमा सीमित गरिएको प्राधिकरणले जनाएको छ । विद्युत् चुहावटमध्ये प्रसारण लाइनतर्फ तीन दशमलव ३३ प्रतिशत र वितरणतर्फ नौ दशमलव ४० प्रतिशत रहेको छ । आठ वर्षअघि २५ दशमलव ७८ प्रतिशत चुहावटमध्ये १९ दशमलव ८० प्रतिशत वितरण र बाँकी प्रसारणतर्फ थियो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिबले चुहावट नियन्त्रणका लागि चालिएका कदमलाई थप व्यवस्थित र प्रभावकारी बनाएर आठ वर्षको अवधिमा चुहावट नियन्त्रणमा ठूलो सफलता हासिल भएको बताए । कार्यकारी निर्देशक घिसिबले लोडशेडिङको अन्त्य भई नियमित रूपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैरप्राविधिक चुहावट नियन्त्रणका लागि चालिएका कदमले वितरणतर्फको विद्युत् चुहावट नियन्त्रणमा सकारात्मक प्रभाव परेको उल्लेख गरे ।
प्रणालीमा विद्युत् चुहावट हुँदा प्रत्यक्ष रूपमा अर्बौँ रकम आम्दानी गुमिरहेको थियो । चुहावट नियन्त्रणबाट मात्र प्रति वर्ष झन्डै १२ अर्ब रुपैयाँ थप आम्दानी भएको र गुमिरहेको रकम उठाउन सफलता मिल्दा यसको प्रत्यक्ष सकारात्मक प्रभाव प्राधिकरणको नाफामा देखिएको कार्यकारी निर्देशक घिसिङको भनाइ छ । नाफाबाट आर्जन भएको रकमलाई प्रणाली विस्तार र सुधारमा लगानी गरिहेको अब चुहावटलाई एकल अङ्कमा झार्ने लक्ष्य राखेर काम भइरहेको घिसिङले बताए ।
आर्थिक वर्ष २०७२/७३ मा आठ अर्ब ८९ करोड रुपैयाँ खुद नोक्सानीमा रहेको प्राधिकरणले गएको आर्थिक वर्षमा १३ अर्ब ३१ करोड रुपैयाँ नाफा कमाएको छ । यस्तै ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरण गएको आर्थिक वर्षमा ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा पुगेको छ ।