त्रिविको अनलाइन ट्रान्सक्रिप्ट सेवा अवरुद्ध, विद्यार्थीलाई पुन: बल्खु नै जानुपर्ने बाध्यता
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले धुमधामले सुरु गरेको शैक्षिक प्रमाणपत्र सम्बन्धी अनलाइन सेवा अवरुद्ध भएको छ । त्रिवि, परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले अनलाइन सेवा दिनेगरी सुरु गरेको वेबसाइटमा समस्या देखिएको हो ।
पनिकाले गत १५ माघदेखि सेवाग्राहीलाई बल्खुस्थित कार्यालयमा आउनु नपर्नेगरी विभिन्न शैक्षिक प्रमाणपत्रको काम अनलाइनमार्फत दिन सुरु गरेको थियो । यस अन्तर्गत विद्यार्थीले ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि, करेक्सन लगायतको अनलाइन आवेदन दिने व्यवस्था थियो ।
तर, अहिले वेबसाइट खोल्दा ‘योर कनेक्सन इज नट प्राइभेट’ भन्ने सन्देश देखिन्छ । एक साइबर सुरक्षा जानकारका अनुसार सामान्यतः सेक्योर सकेट्स लेयर (एसएसएल) सर्टिफिकेटको मिति सकिँदा वेबसाइटमा यस्तो सन्देश देखिने गर्छ । त्रिविले यति सानो काम नगर्दा शैक्षिक प्रमाणपत्र सम्बन्धी अनलाइन सेवा प्रभावित भएको उनले बताए ।
उनका अनुसार एसएसएल सर्टिफिकेटको मिति सकिँदा वेबसाइटमा कनेक्सन इस्यु देखिन्छ । “एसएसएल सर्टिफिकेट त्यस्तो डिजिटल सर्टिफिकेट हो, जसले वेबसाइटको प्रमाणीकरण गर्ने काम गर्छ । यसले वेब सर्भर र वेब ब्राउजरबीच इन्क्रिप्टेड कनेक्सन बनाउँछ,” उनले भने, “तर यो नहुँदा वा एक्सपायर हुँदा प्रयोगकर्ताले वेबसाइटमा दिने डेटा असुरक्षित हुन जान्छ । जसलाई ह्याकरले सजिलै चोर्न सक्छन् ।”
यस विषयमा बुझ्न खोज्दा पनिका प्रमुख तथा त्रिविका सूचना अधिकारीसँग सम्पर्क हुन सकेन । वेबसाइटमा समस्या देखिँदा अनलाइन सेवा लिन खोजिरहेका विद्यार्थीहरू भने भौतिक रूपमै बल्खुस्थित पनिका पुग्नुपर्ने अवस्था सिर्जना भएको छ । पनिकाको अनलाइन सेवा यसअघि पनि बारम्बार अवरुद्ध भएको थियो । पनिकाले अनलाइन सेवा थालेपछि एक ह्याकरले वेबसाइट नै ह्याक गरिदिएका थिए ।