फाइनल खेलअघि नै अयोग्य ठहरिएपछि फोगाटले गरिन् कुस्तीलाई अलविदा
काठमाडौं । ओलम्पिकको फाइनल खेलअघि नै अयोग्य ठहरिएपछि भारतीय पहलवान विनेश फोगाटले कुस्तीलाई अलविदा गरेकी छन् ।
विनेश फोगाटले मंगलबार लगातार तीन खेलमा उत्कृष्ट प्रदर्शन गर्दै ५० केजी तौल समूहको फाइनलमा स्थान बनाएकी थिइन् । यसो गर्ने उनी पहिलो भारतीय महिला बनिन् ।
तर, केही घण्टापछि विनेश फोगाट बढी तौल भएको भन्दै अयोग्य घोषित भइन् । फोगाटले यस पूरै घटनामा कुनै प्रतिक्रिया दिइनन् तर, उनले बिहीबार बिहान कुस्तीबाट सन्यासको घोषणा गरेकी छिन् ।
विनेशले एक्समा लेखेकी छन्, ‘आमा, कुश्तीले मलाई जित्यो, म हारेँ । माफ गर्नुहोस् । तपाईँको सपना र मेरो हिम्मत सबै टुटेको छ । मसँग अहिले योभन्दा बल केही छैन । अलविदा कुस्ती २००१-२०२४ । म सधैं तिम्रो ऋणी रहनेछु । माफ गर्नुहोस् ।’
विनेशको घोषणापछि हरियाणाका मुख्यमन्त्री नायब सैनीले उनलाई सबैका लागि च्याम्पियन भनेका छन् र विनेशलाई पदक विजेताका रूपमा मात्र स्वागत गरिने बताएका छन् ।
योसँगै अमेरिकाका दिग्गज रेसलिंग रेसलर जोर्डन बोरो विनेश फोगाटको समर्थनमा आएका छन् । उनले विनेश फोगाटलाई कम्तिमा रजत पदक दिनुपर्ने माग गरेका छन् ।
बीबीसीकाअनुसार फाइनल खेलका लागि बढी तौल देखिएपछि फोगाट अयोग्य घोषित भएकी हुन् । विनेशको तौल तोकिएभन्दा करिब १०० ग्राम बढी रहेको पाइएको थियो । टोलीले रातभर मेहनत गरेपछि पनि विनेशको ५० किलोभन्दा तौल केही ग्राम बढी देखिएको थियो ।
मिडिया रिपोर्टका अनुसार सेमिफाइनलमा जित हासिल गरेपछि विनेश फोगाटले आराम गरिनन् । उनी रातभर जागै बसिन् र आफ्नो अतिरिक्त तौल घटाउने प्रयास गरिन् ।
स्पोर्ट्स स्टारको रिपोर्टका अनुसार विनेश फोगाटले तौल घटाउन साइकल चलाएकी थिइन्, उनले स्किपिङ गरिन् । यति मात्र होइन, आफ्नो कपाल र नङ समेत काटेका छन् । ठूलो कुरा यो हो कि उनले आफ्नो रगत पनि तानिन् तर, यसका बाबजुद उनी ५० केजी १०० ग्राम मात्रै पुग्न सफल भइन् ।