कोराना महामारीपछि पहिलो पटक खुल्दै उपल्लो डोल्पाको मोरिम्ला नाका

भक्तपुर न्यूज

५ साउन २०८१ ७:३९

कोराना महामारीपछि पहिलो पटक खुल्दै उपल्लो डोल्पाको मोरिम्ला नाका

काठमाडौं । हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा चीनको सिमानामा पर्ने मोरिम्ला नाका ६ वर्षपछि खुल्ने भएको छ । कोरोना महामारीपछि भएको नाका यही साउन १७ गतेदेखि खोल्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयले अहिलेसम्म एक हजार आठ सयभन्दा धेरैको सङ्ख्यामा प्रवेशाज्ञा जारी गरेको छ ।

उपल्लो डोल्पावासीको प्रमुख व्यापारिक केन्द्रका रुपमा रहेको नाका लामो समयपछि खुल्न लागेकाले सीमाक्षेत्र आसपासमा अस्थायी सुरक्षा पोष्ट खडा गरेर जाँचमा कडाइ गरिने उनले बताए। अवैध तथा प्रतिबन्धित वस्तु ओसारपसार गर्न नदिन डिभिजन वन कार्यालयले समेत निगरानी गर्ने भएको छ ।

१५ दिनका लागि मात्र खुल्ने नाकाबाट उपल्लो डोल्पावासीले चामल, नुन, तेल, चिया, लत्ताकपडा, घिउ, चिया, पेयपदार्थलगायत खाद्यवस्तुको किनमेल गर्ने गर्छन् । यसरी खरिद गरिएका सामग्री घोडा, खच्चड, याक, चौँरी, भेडा र मोटरसाइकलमा ढुवानी गर्ने गरिन्छ ।

उपल्लो डोल्पाका डोल्पोबुद्ध, शे–फोक्सुण्डो र छार्काताङ्सोङ गाउँपालिकाका नागरिकलाई सदरमुकाम झरेर सामान किन्न एक सातासम्म लाग्नुका साथै महँगो पनि पर्छ । डोल्पोबुद्ध गाउँपालिकाबाट एक दिनमै मोरिम्ला नाका पुग्न सकिन्छ ।

यस वर्ष तिब्बतको सिँगाचे प्रदेशमा पर्ने डोङ्बा काउन्टी नाकामा व्यापारिक मेला लाग्ने भएकाले सामान सस्तो पाइने डोल्पोबुद्ध गाउँपालिकाका पेमाछेवाङ गुरुङले बताए । यस वर्ष उपल्लो डोल्पामै पर्ने क्याटो नाका भने नखुल्ने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *