पाँचौ पटकमा प्रधानमन्त्री प्रचण्डले पाएनन् विश्वासको मत

भक्तपुर न्यूज

२८ असार २०८१ ११:५४

पाँचौ पटकमा प्रधानमन्त्री प्रचण्डले पाएनन् विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत पाएनन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा उनले विश्वासको मत पाउन नसकेका हुन् । सत्तासाझेदार नेकपा (एमाले) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रचण्डले संसद्‌मा शुक्रबार विश्वासको मत लिएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानको धारा १०० को उपधार २ बमोजिम प्रतिनिधि सभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधि सभा नियमावली २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेश गरेका थिए । प्रस्ताव प्रस्तुत गर्दै प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए ।

बैठकमा सहभागी २५८ सांसदमध्ये प्रधानमन्त्री प्रचण्डको पक्षमा ६३ मत र विपक्षमा १९४ मत र तटस्थमा १ मत खसेको थियो । सभामुख देवराज घिमिरेले उक्त संख्या कूल संख्याको बहुमत नरहेकाले प्रधानमन्त्रीले पेस गरेको प्रस्ताव अस्वीकृत गरेका थिए । यससँगै नेकपा (माओवादी केन्द्र) नेतृत्वको सरकार ढलेको छ । २०७९ पुस ११ गते तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डको सरकार ढलेको हो ।

प्रचण्डले प्रधानमन्त्री बनेको १८ महिनाको अवधिमा पाँचौं पटक विश्वासको मत लिएका हुन् । यसअघि उनले चारपटक विश्वासको मत पाएका थिए । प्रधानमन्त्री नियुक्त भएको १५ दिनपछि उनले पहिलोपटक २०७९ पुस २६ गते प्रतिनिधि सभाको जम्मा दुई सय ७० जना सांसदमध्ये दुई सय ६८ जनाको मत प्राप्त गरेका थिए । दुई जना सांसदले विपक्षमा मतदान गरेका थिए ।

त्यसको झण्डै साढे दुई महिनापछि एमालेलगायतका दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले २०७९ साल चैत ६ गते दोस्रोपटक विश्वासको मत लिएका थिए । त्यसबेला उनलाई प्रतिनिधि सभा बैठकमा उपस्थित दुई सय ६२ सांसदमध्ये कांग्रेससहित एक सय ७२ जनाले विश्वासको मत दिएका थिए भने विपक्षमा ८९ सांसदको मत परेको थियो । एकजना सांसदको तटस्थ मत रहेको थियो ।

प्रधानमन्त्री प्रचण्डले २०८० साल फागुन ३० गते कांग्रेससँगको गठबन्धन तोडेर एमालेसहितको गठबन्धन बनाएपछि तेस्रोपटक विश्वासको मत लिएका थिए । त्यसबेला प्रतिनिधि सभा बैठकमा सहभागी दुई सय ६८ सांसदमध्ये एक सय ५७ जनाले उनको पक्षमा मतदान गरेका थिए । कांग्रेससहित एक सय १० सांसदले भने विपक्षमा मतदान गरेका थिए । एक मत तटस्थमा परेको थियो ।

त्यसपछि जनता समाजवादी पार्टी नेपाल विभाजन भएसँगै सो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले २०८१ साल जेठ ७ गते कांग्रेसलगायत विपक्षी दलको संसद् बैठक अवरोधबीच चौथोपटक विश्वासको मत लिएका थिए । त्यसबेला उनको पक्षमा एक सय ५७ सांसदले मत दिएका थिए भने एक मत तटस्थमा परेको थियो ।

असार १७ गते राति संसदमा दुई ठूला दल कांग्रेस र एमालेबीच गठबन्धनसहित राष्ट्रिय सरकार निर्माण गर्ने सहमति गरेसँगै अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय