त्रिविमा अब डीन पदका लागि पीएचडी अनिवार्य, एउटै पदावधिमा दुई पटकभन्दा बढी नियुक्त हुन नपाउने (विनियमसहित)

भक्तपुर न्यूज

२१ असार २०८१ ११:१३

त्रिविमा अब डीन पदका लागि पीएचडी अनिवार्य, एउटै पदावधिमा दुई पटकभन्दा बढी नियुक्त हुन नपाउने (विनियमसहित)

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका डीन, क्याम्पस प्रमुख लगायतका पदमा उम्मेदवारले राजनीतिक दलमा आवद्ध नभएको स्वघोषणा गर्नुपर्ने भएको छ ।

विश्वविद्यालयले ‘त्रिभुवन विश्वविद्यालयका सावधिक पदमा नियुक्तिका आधार र मापदण्डसम्बन्धी विनियम, २०८१’ सार्वजनिक गरेको छ, जसमा कुनै पनि पदको उम्मेदवारले दलको सदस्य नभएको स्वघोषणा अनिवार्य गरिएको छ ।

अहिलेसम्म नियुक्तिसम्बन्धी मापदण्ड नहुँदा राजनीतिक भागबन्डा हुने गरेको थियो । प्रा.डा. केशरजंग बराल उपकुलपति भएपछि डिन, कार्यकारी निर्देशक, परीक्षा नियन्त्रक, प्रिन्सिपल र क्याम्पस प्रमुख नियुक्तिसम्बन्धी विनियम ल्याएको छ ।

हरेक पदका मापदण्ड बनाएर त्रिविको विश्वविद्यालयको नियुक्तिलाई पारदर्शी, प्राज्ञिक, गैरराजनीतिक बनाउन खोजिएको उनले बताए । विनियममा कुनै पनि संकाय वा संस्थानको डीन छनोट तथा सिफारिसका लागि तीन सदस्य छनोट समिति रहने व्यवस्था समेत गरिएको छ ।

एउटै पदावधिका लागि एउटै व्यक्ति डीन पदमा दुई पटकभन्दा बढी नियुक्त नहुने समेत विनियममा व्यवस्था छ । अरू संकायको डीन नियुक्तिका लागि विद्यावारिधि (पीएचडी) र चिकित्साशास्त्र अध्ययन संस्थानतर्फ एमडीको शैक्षिक योग्यता अनिवार्य गरिएको छ ।

यसका साथै त्रिविमा कम्तिमा १० वर्षको स्थायी पूर्णकालीन प्राध्यापक अनुभव प्राप्त प्राध्यापक वा सहप्राध्यापक हुनुपर्नेछ । सहायक डीनका लागि पनि पीएचडी अथवा एमडी चाहिन्छ, त्रिविमा प्राध्यापन अनुभव भने ८ वर्ष तोकिएको छ । कार्यकारी निर्देशक, परीक्षा नियन्त्रक र प्रिन्सिपलका लागि १० वर्ष र क्याम्पस प्रमुखका लागि कम्तिमा ५ वर्ष प्राध्यापन अनुभवलाई अनिवार्य गरिएको छ ।

https://drive.google.com/file/d/1jrWJL0kawRQM5NwEnMjQ2Xfw9_z7yPVy/view


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *