आईओईले खुलायो बीई/बीआर्क मा प्रवेश परीक्षाको आवेदन (सूचनासहित)
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले स्नातक तह (बीई/बीआर्क) मा शैक्षिक सत्र २०८१/८२ का लागि भर्ना आवेदन खुलाएको छ । शुक्रबार एक सूचना प्रकाशन गर्दै आईओईले स्नातक (बीई/बीआर्क) तहको विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षाको आवेदन आह्वान गरेको हो ।
सूचना अनुसार १६ भदौदेखि सूचना तथा सञ्चार प्रविधि केन्द्र (आईसीटीसी), पुल्चोक र पश्चिमाञ्चल क्याम्पस, पोखरामा प्रवेश परीक्षा सञ्चालन हुनेछ । विद्यार्थीहरूले २७ साउनदेखि ९ भदौसम्म अनलाइनमार्फत आवेदन दिन सक्ने आईओईले जनाएको छ ।
आईओईको प्रवेश परीक्षामा सहभागी हुन विद्यार्थीले त्रिवि वा मान्यताप्राप्त शिक्षण संस्थाबाट भौतिकशास्त्र, रसायनशास्त्र तथा प्लस टु (कक्षा ११ र १२) मा गणित विषय लिई प्रवीणता प्रमाणपत्र तह वा उच्च माध्यमिक तह वा ए लेभल अथवा इन्जिनियरिङ डिप्लोमा तह वा सो सरहको परीक्षामा ४५% तथा न्यूनतम सी ग्रेड प्राप्त गरेको हुनु पर्छ ।
यसका साथै १२ कक्षा वा सोसरहको अन्तिम परीक्षामा सम्मिलित भएका वा इन्जिनियरिङ डिप्लोमाको छैटौं सेमेस्टेरको परीक्षामा सम्मिलित विद्यार्थीहरूले समेत आवेदन दिएर प्रवेश परीक्षामा सामेल हुन सक्नेछन् ।
हाल आईओई अन्तर्गत पाँच आङ्गिक र १० सम्बन्धन प्राप्त कलेजहरू रहेका छन् । जसमा कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रोनिक्स, कम्युनिकेसन एन्ड इन्फरमेसन इन्जिनियरिङ, इलेक्ट्रिकल लगायतका विषय अध्यापन भइरहेका छन् । आईओईको प्रवेश परीक्षाबारे थप बुझ्न तथा आवेदन दिनका लागि यहाँ क्लिक गर्नुहोस् ।
हेर्नुहोस् सूचना