चौथो ‘रारा ट्रेल रन’ को उपाधि अक्कल र राज्यलक्ष्मीलाई
काठमाडौं । नेपाली सेनाद्वारा आयोजित चौथो रारा ट्रेल रनको उपाधि राज्यलक्ष्मी रावल र अक्कल बडुवालले जितेका छन्।
प्रतियोगितामा पुरुषतर्फ मुगुको छायाँनाथ रारा नगरपालिका–१४ का बडुवालले निर्धारित दूरी (१६ किमि) १ घण्टा २ मिनेट १० सेकेण्डमा पूरा गर्दै प्रथम भए। यस्तै, जुम्लाको कनकासुन्दरी गाउँपालिका ३ का शेरबहादुर बुढाले १ घण्टा २ मिनेट ११ सेकेण्डमा दूरी पार गर्दै दोस्रो र कनकासुन्दरी–२ का चन्द्र रावतले १ घण्टा २ मिनेट २१ सेकेण्डमा निर्धारित दूरी पार गर्दै तेस्रो भए।
महिलातर्फ जुम्लाको गुठिचौर–३ की रावलले निर्धारित दूरी १ घण्टा १४ मिनेट ३३ सेकेण्डमा पूरा गर्दै प्रथम, पातारासी–२ की कल्पना बुढाले १ घण्टा १४ मिनेट ५२ सेकेण्डमा निर्धारित दूरी पार गर्दै दोस्रो र समिता बुढाले १ घण्टा १६ मिनेट ३१ सेकेण्डमा निर्धारित दूरी पार गर्दै तेस्रो भइन्।
शुक्रबार बिहान भएको रारा ट्रेल रनमा १६९ पुरुष र ३५ महिला सहभागी थिए। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ५० हजार, ४० हजार र ३० हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र वितरण गरियो। सेनाको हनुमानध्वज गुल्मले आयोजना गरेको प्रतियोगितामा धावकहरुले रारा ताल परिक्रमा गरेका थिए।
प्रकाशित मितिः २०८१ जेठ १८ शुक्रबार