कान्तिपुर र पशुपति सहकारीमा अर्बौं बचत ठगीका आरोपी सिबी लामा पक्राउ
काठमाडौं । कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका पूर्व अध्यक्ष सिबी लामा पक्राउ परेका छन् । फरार सूचीमा रहेका लामालाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनलाई भारतीय सीमा छेउबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका लामालाई काठमाडौं ल्याउँदै गरिएको अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले जानकारी दिए । उनी अहिले पशुपति सेभिङ एन्ड क्रेडिटका अध्यक्ष हुन । उनले कान्तिपुर सहकारीको ६ अर्ब र पशुपतिको २ अर्ब गरी ८ अर्ब रकम अपचलन गरेको आरोप लागेको छ ।
कान्तिपुरका वर्तमान अध्यक्ष हिमाल विक्रम मल्ल भने यसअघि नै पक्राउ परिसकेका छन् । कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिटको सञ्चालक समितिका सञ्चालक विरुद्ध अहिलेसम्म ३ सय ५० भन्दा धेरै बचतकर्ताले जाहेरी दिएका छन् । काठमाडौं जिल्ला अदालतमा दायर गरेको ठगीको मुद्दामा पूर्वअध्यक्ष रहेका सिबी लामा एक्लैले निक्षेपकर्ताको एक अर्ब भन्दा बढी रकम ठगी गरेको अनुसन्धानमा उल्लेख छ ।
कान्तिपुर सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडले आकर्षक ब्याज दिन्छु भन्दै निक्षेपकर्तालाई फिक्स्ड डिपोजिटमा रकम राख्न लगाई डिपोजिटको रकम फिर्ता नगरी अन्यत्र घर जग्गा, होटल, रेष्टुरेन्ट, रिसोर्ट, अस्पतालमा लगानी गरेका थिए । लामो समयदेखि अध्यक्ष रहेका सिबी लामा नै मुख्य भूमिकामा देखिएका थिए । निक्षेपकर्ताको रकममध्ये सिबी लामा एक्लैले १ अर्बभन्दा बढी रकम व्यक्तिगतरुपमा अपचलन गरेका थिए ।
प्रकाशित मितिः २०८१ जेठ १८ शुक्रबार