काठमाडौं उपत्यकाको तापक्रम ३४.४ डिग्री सेल्सियस
काठमाडौं । काठमाडौंको तापक्रम बिहीबार ३४.४ डिग्री सेल्सियस पुगेको छ । विगत केही दिन यता उपत्यकाको तापक्रम बढ्दै गइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अझै केही दिन पानी पार्ने प्रणाली विकास नहुने भएकाले तापक्रम अझै बढ्ने छ ।
विभागका मौसमविद् गोविन्द झाका अनुसार अहिले स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहे पनि बागमती प्रदेशदेखि पश्चिमको भूभागका पानी पर्ने सम्भावना छैन ।
मौसमविद्ले यस वर्ष गतवर्षको भन्दा तापक्रम बढ्ने र वर्षा पनि बढी हुने प्रक्षेपण गरेको थियो । काठमाडौं उपत्यकामा अहिलेसम्मको सबैभन्दा बढी तापक्रम ३६.५ डिग्री सेल्सियस तापक्रम पुगेको थियो । जुन सन् १९८९ मे ७ मा मापन भएको थियो ।
मौसमविद् झाका अनुसार अहिले कोशी प्रदेशको उदयपुर, सङ्खुवासभा बागमती प्रदेशको सिन्धुली, मकवानपुर र गण्डकी प्रदेशको स्याङ्जा र कास्कीको केही भूभागमा हल्का वर्षा भइरहेको छ ।
देशमा सबैभन्दा बढी तापक्रम धनगढीमा पुगेको छ । धनगढीको तापक्रम ४४.१ डिग्री सेल्सियस पुगेको छ । यस्तै नेपालगन्जको तापक्रम ४३.५ डिग्री सेल्सियस पुगेको छ । वीरेन्द्रनगरको तापक्रम ४१ डिग्री पुगेको मौसमविद् झाले बताए ।
यी भूभागमा तत्काल पानी पर्ने सम्भावना नभएकाले तापक्रम अझै बढ्ने सम्भावना रहेको उनको भनाइ छ ।
प्रकाशित मितिः २०८१ जेठ १७ बिहिबार