गृहमन्त्री लामिछानेविरूद्धको रिटमा आज पनि सुनुवाई स्थगित
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट हटाउन माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमा आजपनि सुनुवाई स्थगित भएको छ। सो रिट सुनुवाईका लागि सर्वोच्चका न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासमा पेशी परेको छ। यसअघि हिजो सो रिट न्यायाधीश पोखरेलकै इजलासमा परेको थियो। तर सुनुवाई भएन।
न्यायाधीश हुनुअघि पोखरेल लामिछानेका कानूनी सल्लाहकार भएको कारण स्वार्थ बाँझिने भएकोले सो रिटमाथि सुनुवाई नहुने भएको हो। सोमबार अनुपम भट्टराईले लामिछानेलाई गृहमन्त्रीबाट हटाउन माग गर्दै रिट दायर गरेका थिए।
गृहमन्त्रीलाई पदबाट हटाउन र महान्यायाधिवक्ता कार्यालयको पत्र खारेजलगायतका मागसहित परेको रिट सर्वोच्च अदालतका रजिष्ट्रार विमल पौडेलले दरपीठ गरिदएपछि त्यसविरुद्ध परेको रिटमा गत बधुबार सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले रिट दर्ताको आदेश दिएको थियो।
उक्त आदेशपछि अधिवक्ता अनुपम भट्टराईले दायर गरेको महान्यायाधिवक्ता कार्यालय, उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र महान्यायाधिवक्ता दीनमणि पोखरेलविरुद्धको रिट निवेदन दर्ता भएको हो।
प्रकाशित मितिः २०८१ जेठ १७ बिहिबार