कोशी सरकारविरुद्धको रिट हेर्न नभ्याइने सूचीमा
काठमाडौं । कोशी प्रदेश सरकार गठनबारे रिटको सुनुवाइ हेर्न नभ्याइने सूचीमा राखिएको छ। कोशीका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले हालेको रिटमा बुधबार पेशी तोकिएको थियो।
बुधबार न्यायाधीश मनोजकुमार शर्मा र सारंगा सुवेदीको इजलासमा परेको थियो। अहिले उक्त पेशी हेर्न नभ्याइनेमा राखिएको छ। अदालतको अवहेलना सम्बन्धी सिधाकुरा डटकमविरूद्धको मुद्दामा सुनुवाइ भइरहेको हुँदा अन्य सबै पेशीलाई हेर्न नभ्याइनेमा राखिएको हो।
यसअघि जेठ ९ गते सर्वोच्च अदालतका न्यायाधीशहरू प्रकाशकुमार ढुंगाना र बालकृष्ण ढकालको इजलासले मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदाको कागजात झिकाउन आदेश दिएका थिए।
नेकपा (एमाले) का प्रदेश सांसद कार्की गत वैशाख २७ गते संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका थिए। उनले वैशाख ३१ गते विश्वासको मत प्राप्त गरेका थिए।
कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेको भन्दै निवर्तमान मुख्यमन्त्री केदारले सर्वोच्चमा वैशाख २७ गते रिट दिएका थिए। उनले सरकार गठन नै असंवैधानिक भएको दाबी गरेका थिए।
प्रकाशित मितिः २०८१ जेठ १६ बुधबार