फिल्म ‘बाटोः रोड टु डेथ’ जेठ ३२ गतेबाट रिलिज हुँदै
काठमाडौं । नेपाली, अङ्ग्रेजी, तमिल र हिन्दी भाषामा निर्माण भएको फिल्म ‘बाटोः रोड टु डेथ’ जेठ ३२ गतेबाट रिलिज हुँदैछ। रिलिज मिति नजिकिएसँगै फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ।
थ्रिलर क्राइम जनरामा बनेको फिल्मको ट्रेलर रोचक छ। जंगलमा रहेको बाटोमा गाडीबाट यात्रा गरिरहेका फरक फरक पृष्ठभूमिका पात्रहरुले व्यहोरेको समस्यालाई ट्रेलरमा देखाइएको छ।
काठमाडौं फिल्मस्को व्यानरमा निर्माण भएको फिल्ममा मदन थापाको लेखन र निर्देशन रहेको छ। फिल्मको विषयवस्तु अनुसार १६ वर्ष उमेरभन्दा माथिका दर्शकले मात्र हेर्ने गरी सेन्सर बोर्डले सर्टिफिकेट दिएको छ।
यस फिल्ममा मिथिला शर्मा, आशान्त शर्मा, सुलक्षण भारती, रक्षा थापा, उत्पल झा, विजय आनन्द ताम्राकार, राजेन थापा, आभाष अधिकारी, गणेश उपाध्याय, किरन शाहीलगायतको अभिनय छ ।
भारतको चेन्नइँमा प्राविधिक कार्य भएको फिल्मको निर्माता चन्दन झा हुन्। फिल्ममा शरण ऋषिको छायांकन, एनबी महर्जनको द्वन्द्व छ। डब्बी एटमस साउण्डमा तयार पारिएको फिल्म काठमाडौं र गाईघाटमा छायांकन गरिएको छ। फिल्मको लाइन प्रोड्युसर प्रकाश हमाल हुन्।
प्रकाशित मितिः २०८१ जेठ १५ मंगलबार