चार सवारीसाधन एकापसमा ठोक्किँदा २ जनाको मृत्यु, २१ घाइते

भक्तपुर न्यूज

१४ जेठ २०८१ ५:१४

चार सवारीसाधन एकापसमा ठोक्किँदा २ जनाको मृत्यु, २१ घाइते

काठमाडौं । चितवनको नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा गए राति चार सवारी साधन एकापसमा ठोक्किएका छन्। उक्त दुर्घटनामा २  जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार गए राति साढे १२ बजे काठमाडौंबाट प्युठानतर्फ जाँदै गरेको बा४ख ९०८६ नम्बरको बस, नारायणगढदेखि मुग्लिनतर्फ जाँदै गरेको ना३ख ७९१५ नम्बरको ट्रक, काठमाडौंबाट महोत्तरीतर्फ आउँदै गरेको ना७ख ३२४८ नम्बरको बस र वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना६ख ८९६८ नम्बरको बस एकापसमा ठोक्किएका थिए।

दुर्घटनामा परी गम्भीर घाइते भएका ट्रकका सहचालक सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका राम्चेका २१ वर्षीय राजन सुवेदीको मृत्यु भएको हो। उनको उपचारका क्रममा सोमबार बिहान साढे ८:५५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी भेषराज रिजालले जानकारी दिए।

आइतबार उपचारकै क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको किशोरको पनि परिचय खुलेको छ। डिएसपी रिजालका अनुसार मृतक प्यूठानको नौबहिनी गाउँपालिकाका १३ वर्षीय सुयन पुन छन्।

दुर्घटनापश्चात् राति सडक अवरुद्ध भएको थियो। आज बिहानदेखि सवारी साधन दुईतर्फी सञ्चालनमा ल्याइएको प्रहरी नायब उपरीक्षक रिजालले जानकारी दिए। घाइतेमध्ये १८ जनाको इच्छाकामना आधारभूत अस्पताल कुरिन्टारमा तथा चार जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।

प्रकाशित मितिः २०८१ जेठ १४ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *