अर्थतन्त्रमा बागमतीको योगदान सबैभन्दा बढी र कर्णालीको सबैभन्दा कम
काठमाडौं । देशको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) मा प्रदेशको योगदान हेर्दा बागमती प्रदेशको सबैभन्दा बढी र कर्णालीको सबैभन्दा कम देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले हिजो सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को प्रादेशिक कूल गार्हस्थ्य उत्पादन अनुमानसम्बन्धी तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष देशको कूल अर्थतन्त्रमा बागमती प्रदेशले सबैभन्दा बढी ३६ दशमलव ४ प्रतिशत योगदान गर्ने अनुमान गरिएको छ ।
त्यस्तै, कोशीको १५ दशमलव आठ, लुम्बिनीको १४ दशमलव तीन, मधेशको १३ दशमलव एक, गण्डकीको नौ दशमलव एक र सुदूरपश्चिम प्रदेशको सात दशमलव एक प्रतिशत योगदान रहने अनुमान गरिएको छ । जिडिपीमा सबैभन्दा कम योगदान कर्णाली प्रदेशको करिब चार दशमलव तीन प्रतिशत बराबर मात्रै रहने अनुमान तथ्याङ्क कार्यालयले गरेको छ ।
चालु आर्थिक वर्षमा राष्ट्रिय वार्षिक कूल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा करिब ५७ खर्ब पाँच अर्ब रुपैयाँ हुने अनुमान गरिएको छ । देशको शासन प्रणालीमा भएको परिवर्तन पछि प्रादेशिक तहमा भएको आर्थिक गतिविधिको मापन गर्न र प्रदेशमा देखिएका सामाजिक तथा आर्थिक विभेदलाई कम गर्न आवश्यक नीति निर्माणका लागि तथ्याङ्क कार्यालयले यस्तो तथ्याङ्क सार्वजनिक गर्दै आएको छ ।
चालु आवको प्रारम्भिक अनुमानबमोजिम उपभोक्ताको मूल्यमा प्रादेशिक कूल गार्हस्थ्य उत्पादनको वृद्धिदर सबैभन्दा धेरै गण्डकी प्रदेशमा चार दशमलव ५५ र लुम्बिनीमा चार दशमलव ०५ प्रतिशत बराबर रहने अनुमान गरिएको छ । त्यस्तै, कोशीको आर्थिक वृद्धिदर तीन दशमलव ५१, मधेसको तीन दशमलव ७८, बागमतीको तीन दशमलव ९६ र सुदूरपश्चिमको चार दशमलव ४१ प्रतिशत रहने अनुमान गरिएको छ ।
सबैभन्दा थोरै वृद्धिदर कर्णाली प्रदेशमा तीन दशमलव ३९ प्रतिशत बराबर मात्रै हुने प्रारम्भिक अनुमान छ । उपभोक्ताको मूल्यमा राष्ट्रिय कूल गार्हस्थ्य उत्पादन वृद्धिदर तीन दशमलव ८७ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएकोमा गण्डकी, लुम्बिनी र बागमती प्रदेशको राष्ट्रिय वृद्धिदरभन्दा धेरै र बाँकी प्रदेशको राष्ट्रिय वृद्धिदरभन्दा थोरै हुने प्रारम्भिक अनुमान रहेको छ ।
तथ्याङ्क कार्यालयकाअनुसार सबै प्रदेशमा आव २०७८/७९ को वृद्धिदरभन्दा आव २०७९/८० को वृद्धिदर कम देखिएको छ भने आव २०७९/८० को वृद्धिदरभन्दा आव २०८०/८१ को वृद्धिदर धेरै रहेको देखिएको छ ।