बानेश्वरमा फल्चा शैलीमा निर्माण गरिएको बस बिसौनी सञ्चालनमा
काठमाडौं । अरनिको राजमार्गअन्तर्गत बानेश्वर क्षेत्रमा फल्चा शैलीमा निर्माण गरिएको बस बिसौनी सञ्चालनमा आएको छ । मंगलवार काठमाडौं महानगरपालिका वडा नं. १० का अध्यक्ष रामकुमार केसीले फल्चा बस बिसौनीको उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रमपछि बोल्दै अध्यक्ष केसीले बानेश्वर क्षेत्र राजनीतिक आन्दोलनको केन्द्र भएको उल्लेख गर्दै आन्दोलनका क्रममा सम्पदाहरू बिगार्न नहुने बताए । केसीले सार्वजनिक सम्पतीको रक्षा गर्ने दायित्व सबैको भएको जानकारी दिए ।
परम्परागत निर्माण सामग्री र शैलीको प्रयोग गरेर नमूना बस बिसौनी बनाएको उल्लेख गर्दै उनले यस्ता संरचनाहरू राजनीतिक आन्दोलनको मारमा पर्नु नहुने बताए । बिसौनीको संरक्षणका लागि स्थानीयदेखि सबैले चनाखो हुन जरूरी रहेको उनको भनाई छ ।
सो क्षेत्रमा उस्तै शैलीका २ वटा बस बिसौनी निर्माण भएका छन् । बबरमहलबाट बानेश्वरतर्फको सडक खण्डमा रहेको बिसौनी आउँदो महिनाभित्र सञ्चालनमा आउने बताइएको छ । यी २ वटा फल्चाको लागत ६२ लाख रूपैयाँ रहेको बताइएको छ ।
यसको निर्माणमा कलात्मक थाम, निदाल र दलिनको प्रयोग गरिएको छ । यस्तै बस्नका लागि काठकै मेच राखिएका छन् । बिसौनीभित्र प्रकाशका लागि बत्ती जडान गरिएका छन् ।
प्रकाशित मितिः २०८१ जेठ ०१ मंगलबार