राष्ट्रपति पौडेलद्वारा शालीनदी र बज्रयोगिनीमा पूजा-अर्चना

भक्तपुर न्यूज

६ फागुन २०८० १०:२६

राष्ट्रपति पौडेलद्वारा शालीनदी र बज्रयोगिनीमा पूजा-अर्चना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौं शङ्खरापुर नगरपालिकास्थित शालीनदीमा गइ पूजा, अर्चना गरेका छन्। पौष शुक्ल पूर्णिमादेखि जारी श्री स्वस्थानी व्रत कथाअन्तर्गतको माधवनारायण मेलामा आज बिहान सहभागी भएका हुन्।

सो अवसरमा राष्ट्रपति पौडेलले श्री स्वस्थानी र माधवनारायणको दर्शन एवं पूजा अर्चना गरेका छन् । साथै उनले शालीनदीमा जल अभिषेक गरेका छन् । उनले बज्रयोगिनी मन्दिरमासमेत दर्शन एवं पूजा अर्चना गरे।

नगरपालिका एवं काठमाडौं क्षेत्र नं २ बाट निर्वाचित सांसद सोविता गौतमको निमन्त्रणामा साँखु पुगेका राष्ट्रपति पौडेलले प्राचीन, ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रमा रहेको बज्रयोगिनी मन्दिरको दर्शन गर्न पाउनु आफ्ना लागि खुसीको विषय भएको बताए।

बज्रयोगिनी मन्दिर पुग्दा शङ्खरापुर–८ का वडाध्यक्ष पोते थिङ र वडा नं ४ का वडाध्यक्ष सुनबहादुर तामाङलगायत स्थानीयवासीले स्वागत गरेका थिए। उनले भृकुटी र स्रङ्चङ् गम्पोसँगको ऐतिहासिक महत्व जोडिएको बज्रयोगिनी र धार्मिक एवं ऐतिहासिक महत्वको शालीनदी क्षेत्रको विकासका लागि राज्यले विशेष ध्यान दिने विश्वास व्यक्त गरे।

सो अवसरमा सांसद र नगरप्रमुख एवं उपप्रमुखलगायत जनप्रतिनिधिले धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वको क्षेत्र भए पनि शालीनदी क्षेत्रको विकास हुन नसकेको, पुनःनिर्माणका कामले गति लिन नसकेको र कतिपय विकासका काम अधुरै रहेको गुनासो गरेका थिए। उनीहरुले राष्ट्रप्रमुखको भ्रमणपछि पुनःनिर्माण र अन्य अधुरा विकासका कामले गति लिने विश्वास व्यक्त गरे।

सांसद गौतमले राष्ट्रपतिको उपस्थितिले शालीनदीको थप संरक्षण र व्यवस्थापनमा सरकारको ध्यान केन्द्रित हुने विश्वास व्यक्त गरे।

शालीनदीको मेलामा हरेक वर्ष झण्डै ३० लाख धर्मावलम्बीले दर्शन गर्ने उनले बताए। राष्ट्रपति पौडेल शालीनदी पुग्दा उनलाई सांसदद्वय गौतम र प्रतिमा गौतम, नवनिर्वाचित राष्ट्रियसभा सदस्य विष्णुदेवी पुडासैनी, नगर उपप्रमुख समिता श्रेष्ठ, माधवनारायण मेला व्यवस्थापन समितिका संयोजक बालकृष्ण श्रेष्ठलगायत स्थानीयवासीले स्वागत गरेका थिए।

प्रकाशित मितिः २०८० फागुन ०६ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *