त्रिविमा पत्रकारिता तथा आमसञ्चार विभाग अब आफ्नै भवनमा

भक्तपुर न्यूज

३ फागुन २०८० ६:५४

त्रिविमा पत्रकारिता तथा आमसञ्चार विभाग अब आफ्नै भवनमा

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग बल्खुमा आफ्नै नवनिर्मित भवनमा औपचारिक रुपमा सरेको छ । त्रिविका कार्यवाहक उपकुलपति प्रा।डा। शिवलाल भुसालले विभाग परिसरमा हिजो नयाँ भवनको उद्घाटन गरेको हो । विसं २०७३ मा रत्नराज्य लक्ष्मी क्याम्पसमा छुट्टै प्रशासनिक संरचनाअन्तर्गत सञ्चालित केन्द्रीय विभाग अबदेखि बल्खुमा रहेको सुविधासम्पन्न भवनमा सञ्चालन हुन थालेको छ ।

कार्यवाहक उपकुलपति भुसालले विभागले लामो समयको प्रतीक्षापछि पूर्वाधार प्राप्त गरेको बताए । त्यसका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रबाट सहयोग जुटाउन विभागका सम्बद्ध सबैलाई उनले आग्रह गरका हुन् । पत्रकारिताको प्राज्ञिक अध्ययन अनुसन्धानका लागि आवश्यक सबै सुविधा रहेको केन्द्रीय विभाग भवन चार वर्षमा निर्माण सम्पन्न भएको हो ।

विश्वविद्यालयले २०३१ सालमा प्रदर्शनीमार्गमा रहेको रत्नराज्यलक्ष्मी क्याम्पसमा पत्रकारिताको अध्ययनअध्यापन शुरु गरेको थियो । लामो समय प्रमाणपत्र तह र स्नातक तहको अध्यापन हुँदै आएकामा त्रिविले २०५८ सालदेखि पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर, २०६७ देखि विद्यावारिधि (पीएचडी) र विसं २०७४ देखि दर्शनाचार्य तथा विद्यावारिधि (एमफिल पीएचडी) तहको अध्यापन शुरु गरेको थियो ।

नयाँ भवनमा सुविधासम्पन्न कक्षाकोठा, प्राध्यापक कक्ष, रेडियो स्टुडियो, फिल्म अध्ययनस्थल, मल्टिमिडिया कक्ष, पुस्तकालय, अन्तर्राष्ट्रियस्तरको सभाहल, अतिथि प्राध्यापक आवासलगायत रहेका छन् ।

प्रकाशित मितिः २०८० फागुन ०३ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *